काठमाडौँ । देशको राजनीतिक इतिहासमा नयाँ मोड ल्याएको ‘जेन्जी’ आन्दोलनको सम्झनामा आज देशभर ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ।
२०८२ साल भदौ २३ गते भएको ‘जेन्जी’ आन्दोलनले तत्कालीन राजनीतिक व्यवस्थामै ठूलो उथलपुथल ल्याएको थियो। आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाएका थिए भने आन्दोलनको प्रभावस्वरूप तत्कालीन सरकार विघटन भएको थियो।
आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिका बीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। यसरी युवाको आन्दोलनबाट सुरु भएको राजनीतिक घटनाक्रमले देशलाई नयाँ राजनीतिक चरणमा प्रवेश गराएको थियो।
सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज ‘जेन्जी’ सहिद दिवस मनाउँदै देशभर सार्वजनिक बिदा दिएको छ। सहिद दिवसका अवसरमा आज सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहनेछन्।
भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘जेन्जी’ आन्दोलनका सहिदहरूको सम्मानमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
युवाको सहभागितामा भएको आन्दोलनले केवल तत्कालीन सरकार परिवर्तनमा मात्र प्रभाव पारेन, देशको राजनीतिक दिशामै महत्वपूर्ण परिवर्तन ल्याएको रूपमा समेत हेरिएको छ। त्यसै आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा आज पहिलोपटक ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ।
आजको दिनलाई आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा उनीहरूले उठाएका राजनीतिक र सामाजिक परिवर्तनका मुद्दालाई स्मरण गर्ने दिनका रूपमा लिइएको छ।