प्रचण्डले मागे जेनजी आन्दोलनका घटनाको निष्पक्ष छानबिन, ओलीले भने– ‘विध्वंस योजनाबद्ध थियो’

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट र विध्वंसका घटनाबारे निष्पक्ष, स्वतन्त्र तथा तथ्यमा आधारित छानबिन गर्न माग गरेका छन्।

जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनको मूल भावना र त्यसपछि भएका हिंसात्मक घटनालाई एउटै दृष्टिले हेर्न नहुने बताएका छन्।

युवाहरूको जायज असन्तुष्टिलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित प्रयास भएको उनको दाबी छ।

प्रचण्डले गत वर्ष २४ भदौमा सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय तथा सरकारी, प्रहरी र राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’ का रूपमा चित्रण गरेका छन्।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गत वर्षको २४ भदौलाई कहालीलाग्दो विध्वंस भएको दिनका रूपमा स्मरण गरेका छन्।

भिडियो सन्देश जारी गर्दै ओलीले राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि ठूलो आक्रमण र विध्वंस भएको बताएका छन्।

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा व्यापक हिंसा, तोडफोड र आगजनी भएको थियो। विशेषगरी २४ भदौमा सरकारी तथा निजी सम्पत्तिमाथि व्यापक क्षति पुगेको थियो।

ओलीले भदौ २३ गतेको प्रदर्शनपछिको घटनाक्रममा ज्यान गुमाएका युवाहरू तथा कर्तव्यपालनका क्रममा मारिएका प्रहरी जवानप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

उनले लोकतन्त्रमा नागरिकले आफ्ना अपेक्षा, असन्तुष्टि र मागहरू शान्तिपूर्ण रूपमा राख्नु स्वाभाविक भएको उल्लेख गर्दै संविधानले वाक् स्वतन्त्रता र शान्तिपूर्ण विरोधको अधिकार सुनिश्चित गरेको बताएका छन्।

तर, गत वर्ष युवाहरूले सुशासन र सामाजिक सञ्जालका विषयमा गरेको शान्तिपूर्ण प्रदर्शनमा आपराधिक समूह घुसेर योजनाबद्ध रूपमा हिंसा भड्काएको ओलीको आरोप छ।

उनले संसद् भवनअगाडिको घटनामा १७ जनाको ज्यान गएको स्मरण गर्दै त्यसपछिको राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, पार्टी कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमाथिको तोडफोड, लुटपाट र आगजनीलाई केवल आवेगको परिणामका रूपमा बुझ्न नसकिने बताएका छन्।

एक वर्षपछि प्रचण्ड र ओली दुवैले जेनजी आन्दोलनपछिको हिंसा र विध्वंसबारे गम्भीर प्रश्न उठाएका छन्। प्रचण्डले स्वतन्त्र छानबिनको माग गरेका छन् भने ओलीले घटनाका पछाडि योजनाबद्ध रूपमा हिंसा भड्काउने तत्व सक्रिय रहेको दाबी गरेका छन्।

सम्बन्धित समाचारसबै