बिराटनगर । विराटनगरको न्यूरो अस्पताल क्षेत्र पछिल्लो समय मोटरसाइकल चोरीको जोखिमपूर्ण क्षेत्र बन्दै गएको गुनासो बढ्न थालेको छ ।
अस्पताल आउने बिरामीका आफन्त, सेवाग्राही तथा अन्य व्यक्तिहरूले पार्किङमा राखेका मोटरसाइकल चोरी हुने घटना हप्तैपिच्छे दोहोरिन थालेको छ । बिरामीको उपचारका लागि अस्पताल पुग्ने मानिसहरू एकातिर आफन्तको स्वास्थ्य अवस्थाको चिन्तामा हुदै गर्दा अर्कोतिर बाहिर पार्किङमा राखिएको आफ्नो मोटरसाइकल सुरक्षित छ कि छैन भन्ने चिन्ता समेत थपिएको छ ।
अस्पताल परिसरबाट आफ्नो मोटरसाइकल चोरी भएपछि यतिबेला बिराटनगर ६ का स्थानीय अमिरुल हक पिडित बनेका छन । को. ३१ प. १२०५ को मोटरसाइकल लिएर अस्पताल आएका हकले उपचार सकेर बाहिर निस्कदा आफ्नो मोटरसाइकल चोरी भइसकेको बताए । “उपचार गर्न आएको थिए, बाहिर निस्कदा साधन नै चोरी भइसकेको रहेछ ।” उनले भने, “यो मेरो मात्र समस्या हैन यस अस्पताल बाहिरबाट हरेक हप्ता बाइक चोरी हुन्छन ।” पीडित पक्षका अनुसार, मोटरसाइकल पार्किङ गरेर अस्पतालभित्र प्रवेश गरेपछि फर्किँदा सवारी नै गायब भएको थाहा पाउने अवस्था आउन थालेको छ ।
अस्पतालजस्तो संवेदनशील र मानिसहरूको चहलपहल हुने क्षेत्रमा बारम्बार मोटरसाइकल चोरी भइरहँदा पनि सुरक्षा व्यवस्था, पार्किङ क्षेत्रमा पर्याप्त निगरानी, सीसीटीभी क्यामेरा र सुरक्षा गार्डको भूमिकाका बिषयमा अस्पताल प्रशासनले चासो नराखेको पिडितहरुको भनाइ छ ।
विराटनगरमा यसअघि पनि मोटरसाइकल चोरीका घटना दोहोरिँदै आएका छन् । प्रहरीले चोरीका घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने र चोरी भएका सवारीसाधन बरामद गर्ने घटना पनि सार्वजनिक भएका छन् । तर चोरीको श्रृंखला भने पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको देखिन्छ ।
अस्पताल परिसर वा आसपासको क्षेत्रमा भइरहेको भनिएको मोटरसाइकल चोरीका घटनाप्रति अस्पताल प्रशासन, सुरक्षा निकाय र स्थानीय प्रहरी गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको छ ।