लाइक–भ्युजको दौडमा विकृति बढ्यो : पोखरेल ||

0 Shares

विराटनगर । पछिल्लो समय सामाजिक सञ्जालमा सूचना र विचारको आदानप्रदानसँगै लाइक, कमेन्ट र भ्युजको दौडमा नकारात्मकता, अफवाह तथा सामाजिक विभाजन बढाउने सामग्रीसमेत फैलिन थालेको भन्दै यसको जिम्मेवार प्रयोगमा जोड दिइएको छ।

‘भित्रको खबर’को कार्यालयमा आयोजित ‘चिया टेबल’ कार्यक्रममा सहभागी नेकपा एमालेका नेता ऋषिकेश पोखरेलले सामाजिक सञ्जाललाई केवल ‘सोसल मिडिया’का रूपमा नभई समाजका विभिन्न पक्षलाई जोड्ने सामाजिक प्लेटफर्मका रूपमा बुझ्नुपर्ने बताउनुभयो।

पोखरेलले पछिल्लो समय सामाजिक सञ्जालमा सकारात्मक र तथ्यपरक सामग्रीभन्दा बढी उत्तेजना सिर्जना गर्ने तथा विवाद बढाउने विषयले प्राथमिकता पाउने प्रवृत्ति देखिएको बताउनुभयो। लाइक र भ्युज बढाउने तथा त्यसबाट आर्थिक लाभ हासिल गर्ने उद्देश्यले कतिपय सामग्री तयार र प्रसारित हुने गरेको भन्दै उहाँले यस्तो प्रवृत्तिले सामाजिक सञ्जालको मूल उद्देश्यलाई कमजोर बनाउन सक्ने उल्लेख गर्नुभयो।

विशेषगरी जातीयता र धर्मका विषयलाई अतिरञ्जित तथा संवेदनशील ढंगले प्रस्तुत गर्ने प्रवृत्ति बढ्नु चिन्ताको विषय भएको उहाँको भनाइ थियो। सामाजिक सञ्जालमा धेरै मानिसको ध्यान खिच्ने नाममा जात, धर्म र समुदायसँग जोडिएका विषयलाई उत्तेजक ढंगले प्रस्तुत गर्दा त्यसले सामाजिक सद्भावमा असर पार्न सक्ने उहाँले बताउनुभयो।

उहाँले अहिलेको अर्को ठूलो चुनौती झुटा सूचना र अफवाहको तीव्र प्रसार भएको बताउनुभयो। कुनै विषयको सत्यता पुष्टि नगरी सामाजिक सञ्जालमा सामग्री पोस्ट तथा शेयर गर्ने प्रवृत्तिका कारण अपुष्ट सूचना छोटो समयमै ठूलो समूहसम्म पुग्ने गरेको उहाँको भनाइ थियो।

‘भाइरल’ हुने प्रतिस्पर्धाले कतिपय अवस्थामा वास्तविकता र तथ्यभन्दा सनसनीलाई प्राथमिकता दिने अवस्था सिर्जना गरेको भन्दै पोखरेलले यसप्रति सञ्चारमाध्यम पनि थप संवेदनशील हुनुपर्ने बताउनुभयो। सामाजिक सञ्जालमा आएको हरेक सूचना समाचार नहुने र समाचार बन्नुअघि त्यसको तथ्य परीक्षण आवश्यक हुने उहाँले स्पष्ट पार्नुभयो।

पोखरेलले बदलिँदो सूचना प्रविधिको अवस्थामा पत्रकारिता क्षेत्रको जिम्मेवारी अझ बढेको बताउनुभयो। सञ्चारमाध्यमले सामाजिक सञ्जालमा फैलिएका अफवाहलाई पुनः प्रसारण गर्नेभन्दा तथ्य जाँच गर्ने, भ्रम चिर्ने र नागरिकलाई विश्वसनीय सूचना उपलब्ध गराउने भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँका अनुसार सामाजिक सञ्जालको प्रभाव आज व्यक्ति वा कुनै निश्चित समूहमा मात्र सीमित छैन। यसको प्रभाव सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा समेत देखिन थालेकाले यसको प्रयोगमा नागरिक, सञ्चारमाध्यम, राजनीतिक दल तथा सार्वजनिक व्यक्तित्व सबै जिम्मेवार हुन आवश्यक छ।

कार्यक्रममा सहभागी वक्ताहरूले पनि सामाजिक सञ्जाललाई घृणा, विभाजन र भ्रम फैलाउने माध्यमभन्दा ज्ञान, सूचना, बहस र सामाजिक जागरणको प्लेटफर्मका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए। अभिव्यक्ति स्वतन्त्रताको प्रयोगसँगै तथ्य, मर्यादा र सामाजिक उत्तरदायित्वलाई पनि समान रूपमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो।

सामाजिक सञ्जालको पहुँच निरन्तर विस्तार भइरहेका बेला यसको प्रभावकारी र जिम्मेवार प्रयोगलाई प्रवर्द्धन गर्न सञ्चारमाध्यम तथा प्रयोगकर्ता दुवै पक्ष सचेत हुनुपर्नेमा कार्यक्रमले जोड दिएको छ। लाइक र भ्युजभन्दा सत्य, तथ्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने वातावरण निर्माण गर्नुपर्ने सहभागीहरूको धारणा थियो।

सम्बन्धित समाचारसबै