आकाशमै मृत्युसँग जुध्दै १७० यात्रुको ज्यान जोगाउने भारतीय पाइलट: ‘आफू मर्न लागे पनि अरूलाई मर्न दिइनँ ||

0 Shares

अबु धाबी । “आफू रगतले लतपतिएर भुइँमा ढलिरहेको थिएँ, तर मनमा एउटै अठोट थियो— म मरे पनि १७० भन्दा बढी यात्रुलाई मर्न दिने छैन।”

ककपिटभित्र आफ्नै सहचालक (को-पाइलट) को ज्यानै लिने गरी भएको साङ्घातिक आक्रमण, ३५ हजार फिटको उचाइमा खोसिएको नियन्त्रण र द्रुत गतिमा जमिनतिर खसिरहेको विमान— यी सबै भयानक परिस्थितिका बीच फ्लाई दुबईका क्याप्टेन स्मित मच्छारले देखाएको अदम्य साहसले आज १७० भन्दा बढी यात्रुको जीवन सुरक्षित भएको छ।

दुबईबाट तेल अभिभका लागि उडान भरेको फ्लाई दुबईको ‘एफजेट १०७३’ (FZ 1073) विमान उडान भरेको साढे दुई घण्टापछि अचानक संकटमा पर्यो। सहचालकले क्याप्टेन मच्छारमाथि अचानक छुरा प्रहार गरी विमान दुर्घटना गराउने र नियन्त्रण कब्जा गर्ने प्रयास गरेका थिए। आक्रमणपछि विमान केही मिनेटमै ५,२०० मिटरसम्म (१७ हजार फिटभन्दा बढी) तल खस्यो। विमानले लगत्तै संकटको संकेत पठाउँदै अपहरण वा नियन्त्रण कब्जा भएको बुझाउने ‘स्क्वक ७५००’ कोड एयर ट्राफिक कन्ट्रोललाई पठाएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कलका क्रममा आफ्नो दुःस्वप्न जस्तै पल सम्झिँदै क्याप्टेन मच्छारले भने, “ममाथि निरन्तर आक्रमण भइरहेको थियो। म गम्भीर घाइते भएँ र ककपिटको भुइँमा लडेँ। तर, विमान दुर्घटनातर्फ गइरहेको महसुस भएपछि मैले आफ्नो अन्तिम शक्ति लगाएर भित्रबाट ककपिटको ढोका खोलेँ।”

क्याप्टेन मच्छारले ढोका खोल्ने बित्तिकै विमानमा यात्रुका रूपमा सवार दुई जना पूर्वसैनिक पाइलट र अन्य यात्रुहरू ककपिटभित्र छिरेर आक्रमणकारी सहचालकलाई नियन्त्रणमा लिन सफल भए। त्यसपछि तिनै पूर्वसैनिक पाइलटहरूले बिहान स्थानीय समय अनुसार ६:५८ बजे उत्तर-पश्चिमी साउदी अरबको तबुक विमानस्थलमा विमानलाई सुरक्षित रूपमा संकटकालीन अवतरण (Emergency Landing) गराए।

१७ वर्षको उडान अनुभव भएका क्याप्टेन मच्छारलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘सच्चा नायक’ (True Hero) भन्दै प्रशंसा गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीले मच्छारको साहस, धैर्य र द्रुत निर्णय क्षमताले सिङ्गो देशलाई गर्वित बनाएको बताएका छन्।

गम्भीर घाइते मच्छारको साउदी अरबको तबुकस्थित अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि अबु धाबी लगिएको छ। युएईस्थित भारतीय दूतावासका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर छ। अस्पतालको शय्याबाटै दृढ मनोबलका साथ मच्छारले भनेका छन्, “यो चोट मेरो यात्राको एउटा हिस्सा मात्र हो। म चाँडै निको भएर पुनः नीलो आकाशमा उडान भर्नेछु।”

सम्बन्धित समाचारसबै