पशुपतिनाथ मन्दिरमा गैरहिन्दू प्रवेश गरेको घटनामा जोडिएका इटहरीका प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन्।
पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।
पशुपतिनाथ मन्दिरमा गैरहिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रियंका परियार र ओसीम अन्सारीले प्रेम विवाह गरेका थिए। केही दिनअघि उनीहरू पशुपतिनाथ मन्दिर पुगेका थिए। त्यहाँ उनीहरूले बनाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद सुरु भएको थियो।
भिडियोमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिन्छ। यही विषयलाई लिएर सांसद खुस्वु ओलीले प्रतिनिधिसभाको बैठकमै प्रश्न उठाएकी थिइन्।
संसदमा समेत विषय उठेपछि पशुपतिनाथ दर्शन गरेर इटहरी फर्किएका परियार र अन्सारी पक्राउ परेका हुन्।
परियारले भने आफूले श्रीमान् अन्सारीलाई पशुपतिनाथ मन्दिर लगेको बताएकी छन्। पशुपतिनाथ आफ्नो धार्मिक आस्थाको केन्द्र भएको उल्लेख गर्दै उनले श्रीमान्लाई आफ्नो आस्थाको केन्द्रमा सँगै लिएर जानुलाई अन्य उद्देश्यबाट नबुझ्न आग्रह गरेकी छन्।
अन्सारी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन्। उनी इटहरी–८ का स्थायी बासिन्दा हुन्।