कोशी कटानबाट विस्थापित १५ परिवारलाई प्राइम हस्पिटलको सहयोग ||

0 Shares

सुनसरी । कोशी नदीको कटानबाट विस्थापित भएर खुला चौरमा बस्दै आएका सुनसरीको श्रीलंका टापुका १५ परिवारलाई विराटनगरस्थित प्राइम हस्पिटलले खाद्यान्न र स्वास्थ्य सेवा उपलब्ध गराएको छ।

बराहक्षेत्र नगरपालिका–९ मा पर्ने श्रीलंका टापुका ती परिवार कोशी नदीको कटानका कारण घर छाड्न बाध्य भएका हुन्। नदीबाट करिब दुई किलोमिटर टाढा खुला चौरमा बस्दै आएका उनीहरूलाई दैनिक गुजारा चलाउनसमेत कठिनाइ भइरहेको छ।

विस्थापित परिवारको अवस्थाबारे कोशीका माध्यमिक विद्यालयका प्रधानाध्यापक नन्दकुमार मेहताले प्राइम हस्पिटलका अपरेसनल डाइरेक्टर सन्तोष मेहतालाई जानकारी गराएका थिए। त्यसपछि हस्पिटलका प्रबन्ध निर्देशक सनातन मण्डलसहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो।

टोलीले विस्थापित १५ परिवारलाई खाद्यान्न सामग्री वितरण गर्नुका साथै स्वास्थ्य परीक्षण र निःशुल्क औषधि उपलब्ध गराएको हस्पिटलले जनाएको छ। बाढी तथा कटानबाट प्रभावित परिवारमा संक्रमणको जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सेवा प्रदान गरिएको हो।

विस्थापित परिवारको कठिन अवस्था बुझेर विराटनगरबाट सहयोगका लागि पुगेको प्राइम हस्पिटलको टोलीलाई कोशीका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले धन्यवाद दिएका छन्।

घरबार गुमाएर अस्थायी बसोबास गर्न बाध्य परिवारलाई खाद्यान्न र स्वास्थ्य सेवा उपलब्ध गराइए पनि उनीहरूको दीर्घकालीन पुनःस्थापना र सुरक्षित बसोबासको व्यवस्था चुनौतीपूर्ण देखिएको छ।

सम्बन्धित समाचारसबै