काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद खगेन्द्र सुनारमाथि लागेका आरोपबारे आन्तरिक छानबिन सुरु गर्दै उनलाई औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा महिलाको मर्यादामाथि आँच पुर्याउने कार्य, अनुचित दबाब, धम्की र शङ्कास्पद आर्थिक लेनदेनसम्बन्धी विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ।
आरोपको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन अघि बढाउन निर्देशन दिइएको रास्वपाले जनाएको छ। छानबिन निष्कर्षमा नपुगुञ्जेल सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको छ।
पार्टीले महिलामाथिको दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरमा शून्य सहनशीलताको नीति रहेको जनाएको छ। साथै, राज्यका सम्बन्धित निकायबाट हुने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
आन्तरिक छानबिन र सरकारी अनुसन्धानको निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानअनुसार थप कदम चालिने विज्ञप्तिमा उल्लेख छ। आरोपबारे अनुसन्धान जारी रहेकाले त्यसको सत्यता पुष्टि हुन भने बाँकी छ।