दशैंसँगै हराउँदै गएको परम्परा ब्युँझाउँदै रङ्गेलीका युवा ||

0 Shares

विराटनगर / रङ्गेली — बडा दशैं नजिकिँदै गर्दा गाउँघरमा दशैंको छुट्टै उमङ्ग र उत्साह छाउन थालेको छ। तर, पछिल्लो समय प्रविधिको विकास र आधुनिक मनोरञ्जनका साधनहरूको बढ्दो प्रयोगका कारण नेपाली समाजको मौलिक पहिचान बोकेका परम्पराहरू भने बिस्तारै ओझेल पर्दै जान थालेका छन्।

यसै क्रममा, लोप हुने अवस्थामा पुगेको पूर्वकै ऐतिहासिक तथा मौलिक ‘लिङ्गे पिङ’ परम्परालाई जोगाउन मोरङको रङ्गेली नगरपालिका–३ स्थित दक्षिणटोलका युवाहरू एकजुट भएर अगाडि बढेका छन्। चाडपर्वको अवसरमा गाउँमा पुरानै रौनकता फर्काउन र संस्कृति तथा परम्पराको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ स्थानीय रञ्जनी युवा क्लबका सदस्यहरू पिङ निर्माणमा जुटेका हुन्।

स्थानीय रूपमा उपलब्ध बाँसका अग्ला लिङ्गा गाड्ने, बलियो बाटो तथा डोरी तयार पार्ने र पिङ हाल्ने काममा युवाहरू उत्साहका साथ खटिएका छन्। यससँगै दक्षिणटोलभरि दशैंको वास्तविक माहोल र रौनक सुरु भएको छ।

संस्कृति र परम्पराको जगेर्ना गर्नका लागि नै युवाहरू मिलेर यो प्रयास गरिएको स्थानीय अगुवा रुपक गौतम बताउँछन्। “आजकालका बालबालिका तथा युवा पुस्ता मोबाइल, इन्टरनेट र डिजिटल खेलमै बढी सीमित हुन थालेका छन्। हाम्रो मौलिक पहिचान, इतिहास र परम्परा बोकेको लिङ्गे पिङ हराउँदै जान थालेपछि यसलाई जीवन्त राख्न र नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृतिबारे व्यवहारिक जानकारी गराउन हामीले यो पहल गरेका हौं,” गौतमले भने।

पिङले मनोरञ्जन मात्र नभई गाउँघरमा सामाजिक एकता र आपसी सद्भाव बढाउन ठूलो योगदान पुर्‍याउने अर्का स्थानीय धर्म बस्नेतको भनाइ छ। “दशैंमा पिङ खेल्ने, पालो पर्खिने र गाउँभरिका मानिसहरू एकै ठाउँमा भेला भएर सुख-दुःख र खुसी साटासाट गर्ने पुरानो साझा थलो नै पिङ हो। यसले छरछिमेकबीचको सम्बन्ध र आत्मीयतालाई अझ कसिलो बनाउँछ,” बस्नेतले थपे।

त्यस्तै, स्थानीय बिग्यान सेढाईका अनुसार यो अभियानले गाउँमा हराउँदै गएको पुराना यादहरू पुनः ब्युँझाएको छ। “दशैं आउँदा पिङ नहालेसम्म दशैं आएजस्तै लाग्दैनथ्यो। बदलिँदो जीवनशैलीले गर्दा यो परम्परा लगभग हराइसकेको थियो। तर अहिले युवाहरू आफैं अघि सरेर पिङ ठड्याउन थालेपछि गाउँका पुराना पाका पुस्ता पनि खुसी भएका छन् र नयाँ पुस्तामा पनि बेग्लै उत्साह देखिएको छ,” सेढाईले भने।

बदलिँदो जीवनशैलीका कारण मौलिक परम्पराहरू सङ्कटमा पर्दै गएको सन्दर्भमा रञ्जनी युवा क्लब र स्थानीय युवाहरूको यो सक्रियतालाई समग्र रङ्गेलीवासीले निकै सकारात्मक रूपमा लिएका छन्। स्थानीय संस्कृति, परम्परा र सामुदायिक एकताको यो महत्त्वपूर्ण हिस्सालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता सांस्कृतिक अभियानहरूलाई निरन्तरता दिनुपर्ने देखिन्छ।

सम्बन्धित समाचारसबै