स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कवाडीमाथि डोजर चलाएर हिट्लर शैली अपनाएको भन्दै हिम्मत भए शीतल निवास र सिंहदरबार भत्काएर देखाउन चुनौती दिएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले मेयर शाहलाई यस्तो चुनौती दिएका हुन् ।‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिट्लरको शैलीमा हिजो माघ २७ गते ११ बजे कवाडीमाथि डोजर चलाएर मजदुरहरूलाई घाइते बनाए’, उनले भने, ‘ घाइते हुने मजदुरमा मुस्लिम पनि छन्, दलित पनि छन्, मधेसी पनि छन् ।
’उनले गरिब जनतामाथि डोजर चलाउने बालेनलाई चुनौती दिँदै हिम्मत भए सिंहदरबार र शीतलनिवास भत्काउन चुनौती दिए । ‘म बालेन साहलाई च्यालेञ्ज गर्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ ।
हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ । हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत भए बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ’, उनले भने, ‘काठमाडौँका मेयरको नाजीवाद शैली चल्दैन ।’