अहिलेका प्रमुख तीन दल र उनीहरूका सबै नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रमा आफूहरू पूर्ण रूपमा कटिबद्ध रहेको वकालत गरेको भए १५ चैत २०८१ को दिन आउँथ्यो? अहिलेको व्यवस्थाप्रति शंका उत्पन्न हुने ‘राजनीतिक स्पेस’ कसले निर्माण गर्यो?
सुन्दा उस्तै-उस्तै लाग्ने शब्दहरूको प्राज्ञिक परिभाषा फरक हुने मात्रै होइन समय परिस्थिति अनुसार त्यसको प्रयोगले देश र नागरिकको भविष्यमा समेत दीर्घकालीन असर राख्दछ। तत् समयको समाज र राजनीतिलाई व्याख्या र आगामी बाटोलाई देखाउने सान्दर्भिक शब्दावलीको प्रयोग सो देशको प्राज्ञिक संस्था, राजनीति र सिङ्गो नागरिक समाजको गुणस्तर मापनको प्रमुख आधार पनि हो।
जस्तै एउटा उदाहरण हेरौं। संसारभर सन् १९९७ देखि २०१२ को बीच जन्मेका मानिसलाई जेन-जी पुस्ता भन्ने प्रचलन छ। विकसित देशहरूमा यो समयमा जन्मेका बालबालिकाहरूले १० वर्षको उमेरदेखि नै स्मार्ट फोनसँग खेलेर हुर्केको हुन्छन् र तिनीहरूलाई छुट्टै पुस्ताको रूपमा वर्गीकरण गरियो।