जावलाखेल – शुक्रबारदेखि चैत २३ गतेसम्म सडक महोत्सव हुने भएको छ ।
स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्न कुमारीपाटी जावलाखेल विकास संस्था र ललितपुर महानगरपालिकाले ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा महोत्सवको आयोजना गरेको हो ।
स्थानीय कला, संस्कृतिको संरक्षणका साथै पर्यटन प्रवर्द्धनका लागि नौ वर्षपछि कुमारीपाटी–जावलाखेल खण्डमा महोत्सवको आयोजना गर्न लागिएको ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो ।
“महानगर र कुमारीपाटी जावलाखेल विकास संस्थाले संयुक्त रूपमा आयोजना गर्ने महोत्सव ललितपुरको इटीटोलबाट सुरु हुनेछ”, उहाँले भन्नुभयो, “महोत्सवलाई सफल पार्न ललितपुरका सबै वडासँग समन्वय गरेर तयारी थालेका छौँ, यस महोत्सवले स्थानीय उत्पादन र कला संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास लिएका छौँ ।”
महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेकाले भोलि दिउँसो १ बजे बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आथित्यतामा उद्घाटन गरिनेसडक महोत्सवका संयोजक वीरेन्द्र शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार ललितपुरको इटीटोलमा महोत्सवको मञ्च राखिनेछ । साथै रातो मच्छिन्द्रनाथको रथको पाङ्ग्रा र रातो मच्छिद्रनाथसँग सम्बन्धित अन्य मूर्ति, सालिक पनि प्रदर्शनमा राखिने उहाँले बताउनुभयो ।