नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे बस्नेगरी बोलाएको सो पार्टीले जनाएको छ ।
सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्ने र धारणा बनाउने बैठकको एजेन्डा रहेको नेता डा. बेदुराम भुसालले जानकारी दिए ।
सरकारले ल्याएको आर्थिक वर्षको नीति तथा कार्यक्रम उत्पादन वृद्धि र सुशासन कायम गर्ने हिसाबको नभएको सो पार्टीको प्रारम्भिक प्रतिक्रिया रहेको छ ।
‘सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्पादन र सुशासन कायम गर्ने तथा रोजगारी सिर्जना गर्ने हिसाबको छैन कमजोर छ’, भुसालले भने, ‘दिगो विकास र १६ औँ योजनाका लक्ष्यहरूलाई पनि नीति तथा कार्यक्रमले पछ्याएको छैन ।’
भुसालले सरकार आफैँले बनाएको आर्थिक सुधार आयोगका सुझाव एकाध छोए पनि सबै नसमेटेकाले कार्यक्रमले अहिलेका समस्या सम्बोधन गर्न नसक्ने जनाए ।