तीन दशकको अभियानमा पनि स्वच्छ भएन बागमती

0 Shares

काठमाडौँ — काठमाडौं उपत्यकाभित्रका बागमती र यसका सहायक नदीनालालाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले सरकारी निकाय खडा भएको ३२ वर्ष पूरा हुँदा नदी स्वच्छ हुन सकेको छैन ।

नदीनालालाई स्वच्छ बनाएर यसका किनारमा रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्वका धरोहरको जगेर्ना गर्न २०५१ चैत २८ गते तत्कालीन सरकारले पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गरेको थियो । सरकारले यस्तो संरचना बनाएको तीन दशकभन्दा बढी भए पनि बागमती किनारमा ढल मिसाउने कार्य भने रोकिएको छैन । ढलका कारण बागमती कालो देखिँदा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

समितिको अधिकार एवं कार्यक्षेत्र सीमित भएको भन्दै एक वर्ष पनि नपुग्दै २०५२ मङ्सिर ६ गते अधिकार सम्पन्न बागमती ढल निर्माण सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिका रूपमा यसको क्षेत्र विस्तार गरिएको थियो । गठन भएको १६ वर्षपछि २०६५ जेठ २६ गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति भनी यसको नाममा परिवर्तन गरियो ।

समितिले बागमती नदीको किनारामा बहाव क्षेत्र कायम हुनेगरी पूर्वाधार निर्माणका कामजस्तै ढल, सडक, हरित क्षेत्र, तटबन्ध तथा चेक ड्याम निर्माण तथा ढल प्रशोधन केन्द्रको निर्माण तथा सञ्चालन गर्दै जाने उद्देश्य रहेको समितिका सूचना अधिकारी उद्धव नेपालले बताए । सचेतनामूलक कार्यक्रमको माध्यमबाट आम सरोकारवालामा नदीको बढ्दो प्रदूषणप्रति चासो र चिन्ता जगाउनु पनि समितिको उद्देश्य रहेको उनले सुनाए ।

सम्बन्धित समाचारसबै