अस्पताल आउन-जानै दुःख

0 Shares

कास्की — इमर्जेन्सी विभागमा बिरामी बोकेका एम्बुलेन्स र निजी गाडीको ओहोदोहोर चलिरहेको छ ।

कसैको प्रवाह नगरी इमर्जेन्सीअघि प्रतीक्षालयमा एउटा जोडी बसेको छ । उनीहरू घर फर्कने गाडीको पर्खाइमा थिए । मिर्गौला फेल भएकाले पोखरा–३० खुदी नहरचोककी ५८ वर्षीया विष्णुमाया कार्की सातामा दुईपटक अस्पताल धाउनुपर्छ ।

उनलाई लिएर श्रीमान् श्रीप्रसाद श्रेष्ठ हरेक शुक्रबार र मंगलबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आउँछन् । मंगलबार डायलासिस सकिएपछि उनीहरू घर फर्कन बोलाएको गाडी दुई घण्टा पर्खनुपर्‍यो । ‘बिहान छिमेकीको प्राइभेट गाडीमा आएको । साढे १२ बजे आउँछु भन्थे । खोइ कता गएछन्,’ विष्णुमायाले सुनाइन् । छेउमै बसेका श्रीप्रसादले घडीमा नजर लगाए । ‘अन्तै अरूलाई लिएर गएजस्तो छ,’ उनी बोले ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीले सवारी चलाउन बन्द गरेको ५ दिन भइसक्यो । सार्वजनिक सवारी नचल्दा अस्पतालमा उपचार, फलोअपमा आउने बिरामीले कष्ट बेहोर्नुपरेको छ । विष्णुमाया र श्रीप्रसाद गत साता शुक्रबार अस्पताल आउँदा गण्डकी प्रदेशमा बन्दको पहिलो दिन थियो । त्यो दिन बस पाएपछि उनीहरू त्यसैमा आए ।

मंगलबार बस नचल्ने थाहा पाएपछि छिमेकीलाई निजी गाडीमा अस्पताल पुर्‍याइदिन अघिल्लो दिन आग्रह गरेका थिए । त्यही गाडीमा मंगलबार बिहान साढे ६ बजे विष्णुमायासहित दुई जना बिरामी र श्रीप्रसाद अस्पताल आइपुगे । चार घण्टामा डायलासिस सकियो । त्यसपछि उनीहरू अस्पतालको इमर्जेन्सी विभागअगाडि प्रतिक्षालयमा कुरिरहे । ‘आउँदा–जाँदा २ हजार लाग्छ,’ विष्णुमायाले भनिन्, ‘दबाई खाने पैसा दिने कि कारलाई बुझाउने ? गाडी चले सस्तो हुन्थ्यो ।’

सम्बन्धित समाचारसबै