फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने

0 Shares

काठमाडौँ – फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताएका छन्।

उनले आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा यसको औपचारिक घोषणा गरिने सामाजिक सञ्जाल ‘एक्स’मा उल्लेख गरेका छन्।

फ्रान्सले उक्त निर्णय लिए प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने यो पहिलो जी-सेभन राष्ट्र हुने छ। जी-सेभन प्रमुख औद्योगिक राष्ट्रहरूको समूह हो। यसमा फ्रान्सका अलावा संयुक्त राज्य अमेरिका, यूके, इटली, जर्मनी, क्यानडा र जापान छन्।माक्रोँले एक्सको पोस्टमा लेखेका छन्, “मध्यपूर्वमा न्यायसङ्गत र दिगो शान्तिका लागि उसको ऐतिहासिक प्रतिबद्धताबमोजिम फ्रान्सले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने मैले निर्णय लिएको छु।

“”सर्वसाधारण मानिसहरूको उद्धारका लागि अहिलेको जरुरी काम गाजामा जारी युद्ध अन्त्य गर्नु हो। शान्ति सम्भव छ। हामीले तत्कालै युद्धविराम गर्नुपर्छ, सबै बन्धकहरू मुक्त गर्नुपर्छ र गाजाका मानिसहरूका लागि व्यापक मानवीय सहायता पठाइनुपर्छ,” उनले लेखेका छन्।

प्यालेस्टिनी अधिकारीहरूले माक्रोँको निर्णयको स्वागत गरेका छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले भने यस्तो कदमले “आतङ्कलाई पुरस्कृत गर्ने” प्रतिक्रिया जनाएका छन्।

सम्बन्धित समाचारसबै