सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ (पहिलेको ट्विटर)ले नेपालमा दर्ता नगर्ने आधिकारिक जानकारी नेपाल सरकारलाई पठाएको छ। कम्पनीले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै नेपालमा अपारदर्शिता र उच्च स्तरको भ्रष्टाचार भएकाले दर्ता नगर्ने निर्णय गरेको उल्लेख गरेको हो।
सो पत्र सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सचिव एकनारायण अर्यालमार्फत मन्त्रीहरुलाई सुनाएका थिए। पत्रको भाषा सुनेपछि प्रधानमन्त्री ओली असन्तुष्ट देखिएका थिए। एक मन्त्रीका अनुसार ओलीले भने, “भ्रष्ट मुलुकमा दर्ता गर्दिन भनेर भन्ने कुरा सार्वभौम राष्ट्रको सम्मानमाथि प्रहार हो। अरुलाई सह्य होला तर मलाई हुँदैन।”
सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल नफुकाउने निर्णय मन्त्रिपरिषद्मा भएको थियो। तर, त्यसको केही घण्टामै कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटे र सामाजिक सञ्जाल खोल्नुपर्ने दबाब दिएका थिए।
देउवाको दबाबपछि संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले इन्टरनेट प्रदायकहरुलाई पत्र पठाउँदै सामाजिक सञ्जाल पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।
सरकारले यसअघि गत भदौ १९ गतेदेखि फेसबुक, एक्स, युट्युबलगायतका दर्ता नगरेका प्लाटफर्म बन्देज गरेको थियो। मन्त्रालयले यी कम्पनीहरुलाई नेपालमा दर्ता गर्न बारम्बार आग्रह गरे पनि वेवास्ता गरेको आरोप लगाउँदै प्रतिबन्ध लगाइएको थियो।