युवा नेता अन्सारीले आफ्नो सामाजिक संजालमा जारी गरे स्पष्टीकरण

0 Shares

माओवादी निकट युवा नेता ताजिम अन्सारीले आफ्नो सामाजिक संजाल फेसबुकमा स्पष्टीकरण जारी गरेका छन्।
चरित्र हत्या गर्ने प्रयास भएको भन्दै उनले स्पष्टीकरण जारी गरेका छन्। सामाजिक सञ्जालमा आफ्नै संलग्नता देखाइएका तस्बिर र भिडियोहरू भ्रामक भएको दाबी गर्दै उनले पहिलो दिन आन्दोलनमा सहभागिता नभएको, दोस्रो दिन क्षति बुझ्न मात्र गएको र आगजनी रोक्न प्रयास गरेको बताएका छन्। उनी भन्छन् – “म शान्तिपूर्ण आन्दोलनको पक्षमा छु, हिंसात्मक गतिविधिको होइन।” साथै, आगजनीमा संलग्न भएको प्रमाण देखाए कानुनी कारबाही भोग्न तयार रहेको स्पष्ट पार्दै जनतालाई भ्रममा नपर्न आग्रह गरेका छन्। साथै नापी कार्यलय बिराटनगरको तत्कालिन भवन जलेको छ वा छैन भनि आमजनसमुदायमा गएर हेर्न पनि अनुरोध गरे।

नापी कार्यलय बिराटनगरको तत्कालिन अवस्था :-  

युवा नेता ताजिम अन्सारीको फेसबुकमा आएको स्पष्टीकरण : –

मेरो बारेमा फैलाइएको भ्रमबारे स्पष्टीकरण
आदरणीय जनसमुदाय
‘जेन्जी आन्दोलन’को क्रममा विराटनगरमा भएका घटनाहरूलाई लिएर सामाजिक सञ्जालमा मेरो संलग्नता रहेको भन्दै केही तस्बिर र भिडियो क्लिपहरूलाई गलत र भ्रामक तरिकाले व्याख्या गरी मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त सुनियोजित प्रचारप्रति घोर आपत्ति जनाउँदै सत्यतथ्य स्पष्ट पार्न यो वक्तव्य जारी गरेको छु ।
१) आन्दोलनको पहिलो दिन के–कस्तो भयो भन्ने कुरा सबैलाई जानकारी नै छ । पहिलो दिन म कहीँ पनि उपस्थित थिइनँ । जब काठमाडौंमा १९ जना युवा विद्यार्थीको निर्मम हत्या भएको खबरपछि म पनि आन्दोलित बने । दोस्रो दिन सुरुवातदेखि नै आन्दोलनले उग्ररूप लिँदै गएको थियो । उक्त दिन विराटनगरको मुख्यमन्त्री कार्यालय, कर कार्यालय, प्रदेश सभा ,प्रदेश मन्त्रालयहरू र अदालतहरू लगायतका थुप्रै कार्यालयहरुमा तोडफोड भएको खबर सुनेपछि के–कति क्षति भएछ र केही जोगाउन सकिन्छ कि भन्ने मनसायले अवस्था बुझ्न म केही साथीहरूसहित घटनास्थलतर्फ गएको थिएँ ।
२) हामी पुग्दा जिल्ला प्रशासन कार्यालय (सिडियो कार्यालय) मा आगजनी भइसकेको थियो र बाहिरबाट आगोको मुस्लो देखिइरहेको थियो । त्यहाँ मैले एउटा साइकलको टायर जलिरहेको देखें र त्यसलाई बचाउन सकिन्छ कि भनेर तान्न खोजेंको थियो । तर, त्यो पूरै जलिसकेको रहेछ । यही क्षणको स्क्रिनसट लिएर मैले नै आगजनी गरेको भनेर भ्रामक प्रचार गरिएको छ । जबकि, सिडियो कार्यालयमा तोडफोड र आगजनी सुरु भएदेखिका सयौं भिडियोहरू विभिन्न सञ्चारमाध्यममा उपलब्ध छन्, जसमा मेरो उपस्थिति कहीँ पनि देखिँदैन । पुरै भिडियो हेर्न अनुरोध गर्दछौं ।
३) त्यसैगरी, नापी कार्यालयमा पुग्दा बाहिर एउटा गाडीमा आगो लगाइएको थियो । केही समयपछि आएको युवाहरूको अर्को समूहले कार्यालय भवनमै आगो लगाउन खोज्दा मैले उनीहरूलाई रोक्ने प्रयास गरें । भवनलाई जोगाउन र उनीहरूको आक्रोशलाई मत्थर पार्न ‘भवन नजलाऔं, बरु बाहिरको यो कुर्सी जलाऔं, ताकि ठूलो क्षति हुनबाट बचोस्’ भन्दै मैले स्थितिलाई साम्य पार्नको लागि एउटा टेबल उचालेको हुँ । तर, त्यो टेबल पनि अहिले जस्ताको तस्तै छ । नापी कार्यालय सुरक्षित भयो । मेरो उद्देश्य भवनजस्तो स्थायी संरचनालाई जोगाउनु थियो । यो घटनालाई पनि तोडमोड गरी मैले तोडफोड र आगजनीमा अगुवाइ गरेको भनेर दुष्प्रचार गरिएको छ । नापी कार्यालयको सिसीटिभी फुटेज हेर्दा सत्य के हो प्रष्ट हुनेछ ।
४) मेरो समर्थन भ्रष्टाचार र कुशासनविरुद्धको शान्तिपूर्ण आन्दोलनप्रति हो । तर, तोडफोड, आगजनी र हिंसात्मक गतिविधिप्रति होइन । म हिजो पनि यस्ता कार्यको विरुद्धमा थिएँ, आज पनि छु र भोलि पनि रहनेछु । शान्तिपूर्ण रूपमा सडकबाट आवाज उठाउने अधिकारको म सम्मान गर्छु ।
५) म विनम्र अनुरोध गर्दछु ,यदि विराटनगरको कुनै पनि सरकारी कार्यालय वा निजी सम्पत्तिमा मैले एउटा सलाईको काँटी कोरेको, लाइटर बालेको वा आगजनीमा संलग्न भएको कुनै प्रमाण छ भने म देशको कानुनबमोजिम जस्तोसुकै कारबाही भोग्न तयार छु ।
अतः, मेरो राजनीतिक र व्यक्तिगत चरित्रमाथि आँच पु¥याउने उद्देश्यले गलत मनसायका साथ पोस्ट गरिएका तस्बिर र भिडियोहरूको भ्रममा नपर्न सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछु । मेरो नियत सफा थियो र म यो आन्दोलनको नेतृत्वकर्ता वा डिजाइनर नभई एक सर्वसाधरणको रूपमा मात्र त्यहाँ पुगेको थिएँ भन्ने कुरा पुनः स्पष्ट पार्न चाहन्छु ।

सम्बन्धित समाचारसबै