धनगढी । सुदूरपश्चिमको दार्चुलास्थित ६ हजार ३९६ मिटर अग्लो ल्याह्युल पिक (भभया चुचुरो) को पहिलो पटक सफल आरोहण भएएको छ । यसले सुदूरपश्चिम क्षेत्रको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको छ ।
गत बिहीबार नेपाल माउन्टेन एकेडेमी (एनएमए) को व्यावसायिक तालिमको रूपमा तीन प्रशिक्षक र चार प्रशिक्षार्थीसहित सात नेपाली आरोहीको टोलीले पहिलो पटक यो हिमालको शिखर चुमेको हो । यो सफलताले ६ दशकदेखि आरोहण हुन नसकेको सुदूरपश्चिमको सर्वोच्च शिखर अपि हिमाल (७,१३२ मिटर) आरोहणका लागि बलियो आधार तयार पारेको छ ।
अपिहिमाल गाउँपालिकाको निरन्तर प्रयास र नेपाल सरकारको ‘रोयल्टी फ्री’ नीतिको प्रतिफलस्वरूप यो ऐतिहासिक उपलब्धि हासिल भएको बताइएको हो, जसले अब यस क्षेत्रलाई विश्वव्यापी साहसिक पर्यटनको नक्सामा स्थापित गर्ने अपेक्षा गरिएको छ । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अपीजस्ता विशाल हिमशृङ्खला मौन उभिएका छन् ।
अपि हिमाल लामो समयदेखि पर्वतारोहणको दुनियाँमा ओझेलमा परेको छ । अपि हिमालको काखमा रहेको ६ हजार ३९६ मिटर अग्लो ल्याह्युल पिक (यसलाई स्थानीयहरू ‘भभया चुचुरो’ भनेर चिन्छन्)मा पहिलो पटक मानव पाइला परेपछि अपि हिमाल आरोहणको ढोका खुलेको भन्दै सरोकारवाला उत्साहित भएका छन् । यसले सुदूरपश्चिम प्रदेशको उच्च हिमाली पर्यटनमा एक नयाँ र ऊर्जावान बिहानीको संकेत गरेको उनीहरूको भनाइ छ ।
अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार, आरोहण दलमा प्रशिक्षकहरू लालबहादुर जिरेल, रामकाजी तिवारी र राकेशराज तामाङ तथा प्रशिक्षार्थीहरू सूर्यमान तामाङ, सुरज तामाङ, भीषण योन्जन र डाली शेर्पा गरी सात जनाको टोली थियो ।

व्यावसायिक गाइड बन्नका लागि ६ हजार मिटरभन्दा अग्लो हिमाल चढ्नुपर्ने पाठ्यक्रमको एक महत्त्वपूर्ण अंशको रूपमा यो आरोहण गरिएको थियो । उनका अनुसार यो आरोहणलाई तालिमका रुपमा मात्र नलिएर दशकौँदेखिको एउटा सपना साकार पार्ने पहिलो खुड्किलोका रूपमा लिइएको छ ।
‘भभया चुचुरोको सफल आरोहणले अब अपि हिमाल चढ्न सकिन्छ भन्ने आत्मविश्वास र प्राविधिक आधार दुवै दिएको छ । यसले विश्वभरका पर्वतारोहीलाई एउटा बलियो सन्देश दिएको छ कि अपि क्षेत्र आरोहणका लागि तयार छ,’ अध्यक्ष बोहराले भने ।

उनका अनुसार सन् १९६० को दशकमा एक जापानी टोलीले अपि हिमाल चढेको अपुष्ट खबरबाहेक यसको सफल आरोहणको कुनै आधिकारिक प्रमाण छैन । यसपछि यो हिमाल आरोहणका लागि भएका प्रयास सफल हुन सकेका छैनन् । तर अब भभया चुचुरोको सफल आरोहणले अपि क्षेत्रको भूगोल, मौसम र आरोहणका प्राविधिक पक्षबारे महत्त्वपूर्ण जानकारी प्रदान गरेको छ ।
‘हाम्रो लक्ष्य यही टोलीमार्फत अपि हिमालको आरोहण गराउनु हो । त्यो सफलताले सुदूरपश्चिमको पर्यटनको मुहार नै बदलिदिने छ,’ अध्यक्ष बोहराले भने ।
बोहराका अनुसार गाउँपालिकाले २०८० साललाई ‘पर्यटन भ्रमण वर्ष’ घोषणा गर्दै पर्यटकहरूलाई आकर्षित गर्न पूर्वाधार निर्माणमा जोड दियो । पदयात्रा मार्गमा होमस्टे, चिया पसल (टि हाउस) र तालिम प्राप्त ट्रेकिङ गाइडहरूको व्यवस्था गरिएको छ । यसले पर्यटकहरूलाई सुविधामात्र दिएको छैन, स्थानीय समुदायका लागि रोजगारी र आयआर्जनको दिगो स्रोत पनि सिर्जना गरेको छ ।

गाउँपालिकाको निरन्तर पहलपछि नेपाल सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमाललाई आरोहण शुल्क नलाग्ने (रोयल्टी फ्री) घोषणा गरेको थियो । यस नीतिले पर्वतारोहीहरूलाई आर्थिक रूपमा राहत दिएको छ र यस क्षेत्रमा पर्वतारोहण गतिविधि बढाउन उत्प्रेरकको काम गरेको छ । हाल अपि बेस क्याम्पसम्म पदयात्रा गर्ने आन्तरिक पर्यटकहरूको संख्या उल्लेख्य छ, तर विदेशी पर्यटकहरूलाई आकर्षित गर्नु अझै पनि एक चुनौती हो । यही चुनौतीलाई सम्बोधन गर्न पर्वतारोहण जस्ता साहसिक गतिविधिहरूलाई प्राथमिकता दिइएको अध्यक्ष बोहराको भनाइ छ ।
‘हाम्रो समृद्धिको आधार नै पर्यटन हो । हामीसँग विश्वलाई देखाउने प्रकृति छ, अपि हिमालमा बढीभन्दा बढी पर्यटक बढाउन हामी लागि परेका छौँ,’ अध्यक्ष बोहराले भने ।
प्रदेश र संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो पालिका अध्यक्ष बोहराको छ । यद्यपि, स्थानीय सरकारले नेपाल पर्यटन बोर्ड र यूएनडीपी जस्ता संस्थाहरूसँग मिलेर काम गरिरहेको छ । गाउँपालिकाले ‘स्वास्थ्य पर्यटन’ जस्ता अवधारणाहरू पनि अगाडि सारेको छ । विशेषज्ञ डाक्टरहरूले दुर्गम गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् भने बदलामा गाउँपालिकाले उनीहरूलाई अपि बेस क्याम्पसम्मको पदयात्राको व्यवस्था मिलाउँछ ।