काठमाडौं —नेपालका सडक अहिले मृत्युका मैदानझैँ बनेका छन्। बिहान घरबाट निस्कँदा साँझ फर्किने विश्वास हराउँदै गएको छ। हरेक दिन कुनै न कुनै सडकमा दुर्घटनाको खबर आउँछ, र कुनै न कुनै घरमा रुवाइको आवाज गुन्जिन्छ। प्रहरीका तथ्यांक अनुसार हरेक वर्ष दुई हजार पाँच सयभन्दा बढी नेपालीले सडक दुर्घटनामा ज्यान गुमाउँछन् र हजारौं घाइते भएर अपांग जीवन बिताइरहेका छन्। यी तथ्यांक केवल अंक मात्र होइनन्, यी कहिल्यै नअर्को बिहान नदेख्ने मान्छेका अधुरा सपनाहरू हुन्।
दुर्घटनाको कारण एउटै होइन, अनेक छन्। चालकको लापरबाही, मोबाइल चलाउँदै सवारी चलाउने, मदिरा सेवनपछि ड्राइभ गर्ने, ट्राफिक नियमको अवज्ञा गर्ने प्रवृत्तिले दुर्घटनाको ढोका खोल्दछ। पैदल यात्रुहरू पनि कहिलेकाहीँ असावधानीपूर्वक सडक पार गर्छन्, सिग्नल बेवास्ता गर्छन् र जोखिममा पर्छन्। अर्कोतर्फ, नेपालका सडकहरूको अवस्था पनि दयनीय छ — असमतल, खाल्डाखुल्डी, अँध्यारो र चेतावनी साइनबोर्डको अभावले दुर्घटनाको सम्भावना बढाउँछ। धेरै ठाउँमा सडक निर्माण भए पनि नियमित मर्मत नहुँदा स्थिति झनै बिग्रिएको छ।
सवारी साधनहरू पनि सुरक्षित छैनन्। पुराना टायर, कमजोर ब्रेक, अत्यधिक यात्रु, र नियमित मर्मतको अभावले दुर्घटनालाई निम्तो दिन्छ। यसमा थपिएको अर्को ठूलो समस्या हो — ट्राफिक प्रणाली र नियमनको कमजोरी। कागजमा नियम कडा छन्, तर सडकमा कार्यान्वयन कमजोर छ। ठूला सवारीका चालकहरू सजिलै उम्किन्छन् भने साना चालकहरूमा मात्र कारबाही हुन्छ। विद्यालय तहदेखि नै सडक सुरक्षा शिक्षा नहुँदा सचेतना अझै न्यून छ।
मौसमले पनि सडक दुर्घटनामा ठूलो भूमिका खेल्छ। कुहिरो, वर्षा, हिलो वा धुलोका कारण दृश्यता घट्दा चालकले नियन्त्रण गुमाउँछन्। यस्ता बेला विशेष सावधानी अपनाउनुपर्नेमा लापरबाही गर्ने बानीले दुर्घटना निम्त्याउँछ। यसका साथसाथै हाम्रो सोच र संस्कार पनि दोषी छन्। “मलाई केही हुँदैन” भन्ने गलत आत्मविश्वास, हतारको मानसिकता र नियमप्रति लापरबाही नै दुर्घटनाको मूल कारण हो।
सडक दुर्घटनामा मृत्यु केवल एक व्यक्ति गुमाउनु होइन, एउटा परिवारको संसार भत्कनु हो। आमाको आँसु, बुबाको मौनता, बालबच्चाको अनाथपन—यी दृश्यहरूले प्रश्न गर्छन्, “के हाम्रो देशमा सडक मृत्यु सामान्य बन्दै गएको हो?”
दुर्घटनाबाट बच्नका लागि सबै पक्षले जिम्मेवारी लिनु जरुरी छ। चालकले नियमित तालिम र स्वास्थ्य परीक्षण गर्नुपर्छ, सवारी साधनको मर्मत अनिवार्य हुनुपर्छ, सडक मर्मत र साइनबोर्ड सुधार गर्नुपर्छ, र ट्राफिक नियमको समान कार्यान्वयन हुनुपर्छ। विद्यालय तहदेखि नै सडक सुरक्षा शिक्षा सुरु गर्नुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा — हामीले जीवनको मूल्य बुझ्नुपर्छ। गति होइन, सावधानीलाई प्राथमिकता दिनुपर्छ।
सडकमा हरेक सानो गल्तीले एउटा परिवारको संसार भत्काउँछ। त्यसैले आजैदेखि सवारी चलाउँदा र हिँड्दा सजग बनौं। जीवनको गति रोकिन सक्छ, तर मृत्यु आउन नदिन सकिन्छ। सडक केवल गन्तव्यसम्म पुग्ने बाटो होइन — त्यो हजारौं जीवनको यात्रा हो, जसलाई हामी सबैले सुरक्षित राख्नुपर्छ।