विश्व मधुमेह दिवस (World Diabetes Day) को अवसर पारेर लाइफगार्ड अस्पताल, बरगाछीले आज मधुमेह सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क सुगर जाँच तथा जनचेतनामूलक र्याली आयोजना गरेको छ।

कार्यक्रमअन्तर्गत बिहानैदेखि अस्पताल परिसरमा आएका सर्वसाधारणको निःशुल्क रक्त–सुगर परीक्षण गरिएको अस्पतालले जनाएको छ। स्थानीय समुदायमा मधुमेहको जोखिम, लक्षण, रोकथाम तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी फैलाउने उद्देश्यले यो सेवा सञ्चालन गरिएको हो।
यसैक्रममा अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी — डाक्टर, नर्स तथा अन्य स्टाफहरू सक्रिय सहभागितासहित बरगाछी आसपासका क्षेत्र घुम्दै जनचेतनामूलक र्याली निकालेका थिए। सहभागीहरूले मधुमेह पहिचान र रोकथाममा नियमित परीक्षण, स्वस्थ भोजन, व्यायाम तथा जीवनशैली परिवर्तनको महत्त्वबारे स्थानीयलाई जानकारी गराएका थिए।
अस्पतालका प्रतिनिधिहरूका अनुसार, मधुमेहको समयमै परीक्षण र उचित जीवनशैली अपनाउँदा गम्भीर जटिलता रोक्न सकिने भएकाले समुदायस्तरमै स्वास्थ्य चेतना फैलाउन आजको यस्तो पहल गरिएको हो।
लाइफगार्ड अस्पतालले आगामी दिनमा पनि समुदायमुखी स्वास्थ्य सेवा तथा जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।