पारस मल्टिस्पेशालिटी हस्पिटल र विराट मेडिकल कलेजबीच उपचारसम्बन्धी सम्झौता

0 Shares

विराटनगर,  विराटनगरस्थित पारस मल्टिस्पेशालिटी हस्पिटल र विराट मेडिकल कलेजबीच क्यान्सर उपचार तथा न्युक्लियर मेडिसिन सेवालाई प्रभावकारी बनाउने उद्देश्यले एक महत्वपूर्ण समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ। बढ्दो क्यान्सर रोगको जोखिमलाई मध्यनजर गर्दै बिरामीहरूलाई सहज, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न यी दुई अग्रणी स्वास्थ्य संस्थाले हात मिलाएका हुन्।

विपन्नलाई प्राथमिकता र कर्मचारीलाई प्रोत्साहन
यस सहकार्यको मुख्य विशेषता भनेको आर्थिक अवस्था कमजोर भएका, गरिब तथा निमुखा बिरामीहरूलाई विशेष प्राथमिकता दिनु हो। पारस हस्पिटलमा उपचार सम्भव नभएका वा थप विशिष्टीकृत सेवा आवश्यक पर्ने बिरामीहरूलाई विराट मेडिकल कलेजमा विशेष छुटका साथ उपचार गराइनेछ।

पारस हस्पिटलका सिईओ हेम नारायण मेहताका अनुसार, यो सम्झौता केवल बिरामीको उपचारमा मात्र सीमित छैन। दुवै संस्थाका म्यानेजमेन्ट टिम, चिकित्सक र नर्सिङ स्टाफहरूबीच नियमित अन्तरक्रिया र ज्ञान आदानप्रदान समेत गरिनेछ, जसले स्वास्थ्य सेवाको स्तरलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

सम्झौताका मुख्य आकर्षणहरू:
समझदारी अनुसार पारस हस्पिटलबाट प्रेषित (Refer) भएका बिरामीहरूले विराट मेडिकल कलेजमा निम्न सेवाहरूमा सहुलियत पाउनेछन्:

उन्नत सेवाहरू: मेडिकल, सर्जिकल र रेडिएसन अंकोलोजी, केमोथेरापी र फलो-अप काउन्सिलिङ।

न्युक्लियर मेडिसिन: DTPA रिनल फङ्सन स्टडी, थाइरोइड स्क्यान, रिनल स्क्यान र रेडियो-थेराप्युटिक प्रक्रियाहरू।

लक्षित समूह: प्रेषित बिरामीहरूका साथै पारस हस्पिटलका कर्मचारी र उनीहरूका निकटका परिवार (आमाबुबा, पति/पत्नी, र छोराछोरी) ले समेत यो सुविधा उपभोग गर्न पाउनेछन्।

बिरामीको आर्थिक भार कम गर्न दुई संस्थाबीच निम्नानुसारको छुट व्यवस्था गरिएको छ। ओपिडी (OPD) टिकट १०० प्रतिशत नि:शुल्क, जनरल बेड (General Bed) २० प्रतिशत नि:शुल्क, ल्याब तथा रेडियोलोजी जाँच, १५ प्रतिशत नि:शुल्क, सर्जरी (General, Laparoscopic, Oncology) १५ प्रतिशत नि:शुल्क, आईसीयू/एनआईसीयू (ICU/NICU/PICU) १५ प्रतिशत नि:शुल्क।

यस ऐतिहासिक सम्झौतामा विराट मेडिकल कलेजका तर्फबाट अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्की र सिईओ डेनी कार्कीले हस्ताक्षर गर्नुभएको छ।

त्यस्तै, पारस मल्टिस्पेशालिटी हस्पिटलको तर्फबाट अध्यक्ष डा. सफिउर रहमान, सिईओ हेम नारायण मेहता, हस्पिटल को-अर्डिनेटर सुनील देव र हस्पिटल म्यानेजर मोहम्मद सिफतेन रजा अन्सारीले हस्ताक्षर गर्नुभएको छ।

यो सहकार्यले कोशी प्रदेशकै क्यान्सर उपचार पद्धतिमा नयाँ आयाम थप्ने र बिरामीहरूले आफ्नै पायक पर्ने स्थानमा सहुलियतपूर्ण दरमा विश्वस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै