विराटनगर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह बिहीबार भव्य रूपमा आयोजना हुँदैछ। यसपटकको दीक्षान्तमा १६ हजार ३ सयभन्दा बढी विद्यार्थी दीक्षित हुने भएका छन् भने विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ।
त्रिविबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये १६ हजार ३८० विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन निवेदन दिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले जानकारी दिए।
समारोहमा विभिन्न सङ्काय र तहमा उत्कृष्ट नतिजा हासिल गर्ने २५ जना विद्यार्थी—११ छात्रा र १४ छात्र—लाई पदक प्रदान गरिनेछ। यस वर्ष मानविकी सङ्कायबाट १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनबाट २ हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ विद्यार्थी उत्तीर्ण भएका छन्।
त्रिविको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त समारोह आयोजना गर्न लागिएको हो। उपकुलपति अर्यालका अनुसार सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। उनी हाल टोकियो विश्वविद्यालयमा आबद्ध छन्।
दीक्षान्त समारोहका लागि मण्डप निर्माण, दीक्षित विद्यार्थी तथा अभिभावकका लागि बस्ने कुर्सीको व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भइसकेको विश्वविद्यालयले जनाएको छ।