काठमाडौं । नेपाली महिला फुटबलको अग्रपंक्तिमा रहेकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ लामो समय मैदानबाट टाढा रहने भएकी छिन् । अस्ट्रेलियाको व्यावसायिक ए–लिग वुमन अन्तर्गतको खेलमा गम्भीर चोट लागेपछि उनले सन् २०२५–२६ सिजनका बाँकी सबै खेल गुमाउने निश्चित भएको छ ।
न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्सबाट ए–लिग खेलिरहेकी साम्बा गत शनिबार ब्रिस्बेन रोअरविरुद्धको प्रतिस्पर्धामा घाइते भएकी थिइन् । खेलको दोस्रो हाफमा गोल गर्ने प्रयासमा हावामा उफ्रिँदा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किएपछि उनी चोटग्रस्त भइन् । टाउकोले बल प्रहार गर्ने क्रममा भएको उक्त टक्करले उनको दाहिने खुट्टामा गम्भीर असर पुर्याएको थियो, जसपछि उनलाई मैदानबाट बाहिर निकालिएको थियो ।
वेलिङ्टन फिनिक्सले बुधबार सार्वजनिक गरेको चिकित्सकीय विवरणअनुसार साम्बाको दाहिने घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) ग्राफ्ट च्यातिएको पुष्टि भएको छ । चिकित्सकहरूले पूर्ण रूपमा फिट भएर मैदान फर्किन उनलाई ९ देखि १२ महिनासम्म लाग्न सक्ने बताएका छन् ।
गत साउनमा मात्र वेलिङ्टन फिनिक्ससँग अनुबन्ध भएकी साम्बा छोटो समयमै उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन् । उनको चोटले क्लब मात्र नभई नेपाली फुटबल समर्थकहरूलाई पनि निराश बनाएको छ । अब लामो उपचार र पुनःस्थापनाको चरण पार गर्दै मैदानमा फर्कनु नै साम्बाको मुख्य चुनौती हुनेछ ।