बाहुनडाँगीमा अन्तर्राष्ट्रिय तरुल महोत्सव: दुई दिनसम्म रैथाने स्वाद र संस्कृति

0 Shares

झापा । माघे सङ्क्रान्तिको चाडलाई लक्षित गर्दै झापाको मेचीनगर–४ बाहुनडाँगीमा दुई दिने ‘अन्तर्राष्ट्रिय तरुल महोत्सव’ आयोजना हुने भएको छ। पुस ३० र माघ १ गते सञ्चालन हुने यो महोत्सवले हात्ती प्रभावित क्षेत्रका रूपमा चिनिँदै आएको बाहुनडाँगीलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै स्थानीय रैथाने खानाको संरक्षण र प्रचार गर्ने लक्ष्य लिएको छ।

आयोजक समितिका अध्यक्ष तथा वडाध्यक्ष अर्जुन कार्कीका अनुसार महोत्सवमा नेपालसँगै छिमेकी देश भारत र भुटानमा उत्पादन हुने विभिन्न जातका तरुलको प्रदर्शन गरिनेछ। साथै, १८ प्रकारका परम्परागत रैथाने परिकारहरू दर्शकका लागि विशेष आकर्षण बन्नेछन्।

सरकारी तथा गैरसरकारी १४ वटा संस्थाको सहकार्यमा हुन लागेको यो महोत्सव चौथो संस्करण हो। कोशी प्रदेश सरकार, पर्यटन कार्यालय काँकडभिट्टा तथा युएनडिपी, इसिमोड र डब्ल्युडब्ल्युएफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले महोत्सवलाई प्राविधिक तथा आर्थिक सहयोग गरेका छन्।

परम्परागत र पोषणयुक्त खानपानको महत्त्व उजागर गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवलाई करिब ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सव अवधिभर स्थानीय स्वादका परिकारसँगै चर्चित लोककलाकार डेजी बराइली र कमलिकान्त भेटवालको साङ्गीतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।

सम्बन्धित समाचारसबै