रविले पार्टी खोल्नुअघि ठगी र विश्वासघात गरेका हुन् –रास्वपा कार्यकर्तालाई सूर्य थापाको जवाफ

0 Shares

 

काठमाडौं -नेकपा एमालेका सांसद सूर्य थापाले राजनीतिक प्रतिशोधका आधारमा रास्वपा 
सभापति रवि लामिछानेमाथि अन्याय गरियो भन्नु गलत भएको बताएका छन् ।

सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी छानबिन समितिका संयोजक समेत रहेका एमाले सांसद थापाले आइतबार सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै सहकारी ठगीमा थुनामा परेको व्यक्तिलाई लिएर रास्वपाले रूवाबासी गरेको टिप्पणी गरेका हुन् ।

‘सहकारी ठगी– संसदीय छानबिन गर्ने आफ्नै घोषणा । समितिद्वारा कारबाहीको सिफारिश– क्लीन चिट पाएँ । ५ सहकारीमा अनुसन्धान र अभियोजन– प्रतिशोध साँधियो ! २ करोड ७५ लाख धरौट– न्याय जीवितै छ, धरौट बढी भयो !’

रास्वपा नेताहरूप्रति कटाक्ष गर्दै थापाले लेखेका छन्, ‘धरौट खारेजीको माग– स्वयं उच्च अदालतमा निवेदन दर्ता ! पुर्पक्षमा थुनामा पठाउने आदेश– बेडरूममा पुगेर अन्तिम इच्छा सोध्ने ? अति भयो ! नयाँ पार्टीमाथि ज्यादती भयो ! यो त पार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन हो, बचतकर्तामाथिको घात र विश्वासघात हो ।’

थापाले न्यायालयको फैसलाविरुद्ध सिंगो पार्टीको रूवाबासी चलेको भन्दै लेखेका छन्, ‘हरेक व्यक्तिले आफ्नो पौरखका दशा र दुर्दशा त भोग्नुपर्छ ।’

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई शुक्रबार सुप्रिम सहकारी ठगी प्रकरणमा जेल पठाउने आदेश गरेको थियो ।

सोही दिन लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । शनिबार रुपन्देही लगिएका लामिछानेलाई सोमबार कारागार चलान गर्ने तयारी छ ।

सम्बन्धित समाचारसबै