काठमाडौं– सुदूरपश्चिममा रोजगारीका लागि भारत गएकाहरु विसु पर्व नजिकिएसँगै घर फर्कँदै छन ।
कैलालीको त्रिनगर भन्सार नाकाबाट नयाँ वर्ष र विसु पर्व नजिकिएसँगै दिनहुँ रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाल भित्रिने क्रम बढेको सशस्त्र प्रहरी बल, नेपाल चेक पोष्टले जनाएको छ ।
विदेशका अरु देश जान बढी खर्च लाग्ने, भिसाको आवश्यकता पर्नेलगायत विविध कारणले धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गर्छन् । खेतीपाती भएकाहरु आफ्नो काम सकेर अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र बाली भित्र्याउने समयमा घर फर्कने गर्छन् । खेतीपाती नहुनेहरु भने लामो समयको अन्तरालपछि विशेष गरी चाडपर्वकै बेला मात्र घर फर्कने गर्छन् ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका धेरै बासिन्दा रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, हरियाणा, बैङ्लोरलगायत ठूला शहरमा जाने गर्छन् ।