विराटनगर : नेकपा (एमाले) विराटनगर महानगर कमिटीको अध्यक्षमा संस्थापन इतर पक्षका बलराम गिरी (नवीन) विजयी भएका छन् ।
एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनबाट गिरीको प्यानलै विजयी भएको हो । विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा शुक्रबार बिहानका राति सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार प्रतिस्पर्धी रोहित कोइरालालाई ५२ मतान्तरले पछि पार्दै गिरी निर्वाचित भएका हुन् । उनले १ सय ७३ मत पाउँदा कोइरालाको पक्षमा १ सय २१ मत मात्रै प¥यो ।
उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने (सुरज) १ सय ४५ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राम पोखरेलले १ सय ३६ मत ल्याए । सचिवमा विज्ञान शर्मा चापागाईँ १ सय ८३ मतसहित विजयी भएका छन् भने प्रतिस्पर्धी नवराज काफ्लेले १ सय ४ मत पाए ।
उपसचिवमा हमिद आजाद १ सय ७८ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी चन्द्रशेखर विश्वास ९८ मतबाट अघि बढ्न सकेनन् । महिला उपसचिवमा १ सय ६९ मतसहित हिमा मैनाली पोखरेल निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी प्रेमकला डाँगी (कला) १ सय ११ मतमा सीमित भइन् ।
यसअघि एमाले मोरङको जिल्ला अधिवेशनबाट पनि इतर पक्ष विजयी भएको थियो । एमाले विराटनगरको दोस्रो अधिवेशन पाञ्चालीस्थित पार्टी कार्यालयमा वैशाख २ गतेदेखि सुरु भएको थियो । वैशाख ३ गतेसम्म चल्ने भनिएको अधिवेशन १ दिन ढिला गरेर सम्पन्न भएको छ । बुधबार निर्वाचन हुने भनिए पनि विवादका कारण बन्दसत्र स्थगित हुँदा तोकिएको समयमा अधिवेशन सम्पन्न गर्न सम्भव भएन ।