कार्यकर्ताबाटै कज्याइए पर्शुराम: एमाले मोरङ

0 Shares

विराटनगर । नेताको आशीर्वाद पाएर कार्यकर्तामाथि नै रजगज गरिरहेका मोरङका एमाले नेताहरूलाई निर्वाचनको विधिबाट कार्यकर्ताले नै कन्ट्रोल गरेका छन् ।

जसको उदाहरण गत फागुन १७ गते मोरङको दशौँ अधिवेशनको निर्वाचन र भर्खरै सम्पन्न भएको विराटनगर महानगरपालिकाको दोस्रो अधिवेशनको निर्वाचन हो ।

­यी दुवै अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली (संस्थापन पक्ष)ले नचाहेको नेतृत्व निर्वाचित भए । जिल्लाको अधिवेशनबाट अध्यक्षसहित सिङ्गो पदाधिकारी संस्थापनको विपक्षमा रहेको समूहले जित्यो । त्यो जितलाई संस्थापन समूह र सो समूहका योजनाकारसमेत रहेका विराटनगरका चर्चित ‘डन’ पर्शुराम बस्नेत लगायतलाई चित्त बुझेको थिएन ।

सोही समूहले विराटनगर महानगरपालिकाको अधिवेशनमा अर्को समूहलाई कुनै हालतमा अगाडि आउन नदिने र जिल्लाको अधिवेशनबाट देशभर गएको संस्थापन पक्षको विरुद्धको सन्देशलाई चिर्ने अवसरको रुपमा प्रयोग गर्न चाहन्थ्यो । बस्नेतको योजनामा साथ दिएका नेता केन्द्रीय सदस्य जीवन घिमिरे मुखरर देखिए पनि भित्री रूपमा संस्थापन समूहका ठुला नेताहरू नै संलग्न थिए ।

जसमा उपाध्यक्ष गुरु बराल, स्थायी समिति सदस्य भानुभक्त ढकाल, कोशी प्रदेश इन्चार्ज शेरधन राई, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडासम्म थिए ।तत्कालीन नेकपा विभाजित भएपछिको एमालेको नवौँ जिल्ला अधिवेशनमा पार्टी सङ्कटमा भएको भन्दै सबै पालिका र जिल्लाहरूमा सहमतिबाटै नेतृत्व चयन भए । त्यसक्रममा विनाप्रतिस्पर्धा नेताको आशीर्वाद पाउनेहरू एकैपटक माथिल्लो पदमा फट्को मारे । जसमा पर्शुराम बस्नेतहरूको समूह नै थियो । त्यही समूहले आर्थिक, भौतिक अन्य हिसाबले एमालेभित्र दबाब र प्रभाव बढाउँदै लगेको थियो । उनको दबाब कतिसम्म थियो भने कुनै बेला उनलाई नै संरक्षण गरेका एमाले नेता विनोद ढकाललाई मञ्चमा बोल्न दिने या नदिने विषयमा समेत बस्नेतले निर्णय गर्ने थाले ।

सम्बन्धित समाचारसबै