विराटनगर — सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मोरङको कटहरीमा निर्माण भएको एक अस्पताल उद्घाटन गरेर शनिबार हेलिकोप्टरमार्फत काठमाडौं फर्किए ।
तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने अझै झापा–मोरङका विभिन्न कार्यक्रममा सक्रिय रहिरहेकी छन् ।
बिहीबार विराटनगर ओर्लिएकी भण्डारी झापा र मोरङका कार्यक्रममा व्यस्त छिन् । उनको तालिका सोमबारसम्म व्यस्त छ । विराटनगर ओर्लिएपछि उनी मोरङका विभिन्न पार्टी कार्यकर्तासँग भेटघाट र विविध कार्यक्रममा सहभागी भइरहेकी छन् । शुक्रबार उनले विराटनगरमा पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् ।
शनिबार उनले झापाको बिर्तामोडस्थित देवी माविमा एमाले विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । आइतबार नारी सञ्चार गृहद्वारा आयोजित कार्यक्रममासमेत उनी सहभागी भइन् ।
भण्डारी औपचारिक कार्यक्रम मात्र होइन, अनौपचारिक भेटघाट र स–साना भेला तथा छलफलमा पनि सक्रिय देखिएकी छन् । विशेषगरी झापाका एमाले नेता तथा कार्यकर्तासँग उनले आन्तरिक बैठकसमेत गरेकी छन् । ‘झापाका ओली निकट नेता–कार्यकर्ताहरूसँग पूर्वराष्ट्रपतिज्यूले विशेष रूपमा भेटघाट गर्नुभएको थियो,’ एक नेताले बताए ।

आइतबार विराटनगर फर्किने क्रममा भण्डारीले झापाको शिवगञ्जस्थित झापा इनर्जीको उत्पादन केन्द्र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि विराटनगर फर्केर सोमबार मोरङको इटहरास्थित पुर्ख्यौली घर अवलोकन गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी रहेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।
ओलीनिकट एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली व्यापक दौडाहाको तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपतिज्यूको सक्रियतालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।’
