संसद् खुलाउन दलहरू सहमतिनजिक

0 Shares

काठमाडौँ — भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभामा १३ जेठदेखि जारी अवरोध हटाउन सत्तारूढ र विपक्षी दल सहमतिनजिक पुगेका छन् ।

गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट रास्वपा पनि पछि हटेको छ भने अध्यागमनका विषयमा न्यायिक वा संसदीय छानबिन गर्नुपर्ने विपक्षी दलहरूको माग यथावत् छ ।

विभिन्न चरणका छलफलपछि सत्तारूढ कांग्रेस र एमाले तथा विपक्षी दलहरू माओवादी, रास्वपा र एकीकृत समाजवादीबीच भिजिट भिसा प्रकरणमा अख्तियारको अनुसन्धानमा बाधा नपुर्‍याउने र अध्यागमन सुधारमा पहल गर्ने सहमति बनेको हो ।

संसद्को अवरोध हटाउन दलहरूले तयार पारेको सहमतिको मस्यौदामा लेखिएको छ, ‘अहिले अध्यागमनको भिजिट भिसाका सम्बन्धमा अख्तियारले अनुसन्धान गरिरहेको अवस्था छ, त्यो विषयमा सरकारले आवश्यक सहजीकरण गर्ने र अध्यागमन तथा भिजिट भिसा सम्बन्धमा देखिएका समस्याबारे नीतिगत, कानुनी र संरचनागत सुधार गर्न सरकारले ठोस कदम चाल्ने ।’ संसद् खुलाउन आइतबार सभामुख देवराज घिमिरेले सिंहदरबारमा कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकसँग छलफल गरेका थिए भने पछि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले संसद्मा नै विपक्षी दलहरू र कांग्रेससँग छलफल गरेका थिए ।

सभामुखसँगको छलफलमा भने दलहरूबीच सहमति बन्न सकेको थिएन । उक्त छलफलपछि बाहिरिँदै गर्दा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले भनेका थिए, ‘विपक्षीबाट हामीले कुनैपनि निष्कर्ष र निर्णय पाएनौं । उहाँहरूले सहयोग गरे संसद् राम्रैसँग चल्छ,उहाँहरूले अप्ठ्यारो गरे पनि केही असहज होला तर संसद् अगाडि बढ्छ ।’ पछि माओवादी अध्यक्ष दाहालले सत्तारूढ कांग्रेस तथा विपक्षी रास्वपा र एकीकृत समाजवादीका नेताहरूसँग छलफल गरेका थिए । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सांसद ज्ञानेन्द्रबहादुर कार्की छलफलमा सहभागी थिए ।

दलहरू सहमतिमा पुगेको संकेत गर्दै दाहालले संसद् भवनबाट बाहिरिँदा भने, ‘सबै लचिलो बन्नुपर्छ, समस्या समाधान गर्न माओवादी लचिलो बनेर मात्र पुग्दैन, सरकार पनि लचिलो हुनुपर्छ । मैले हिजो कांग्रेस सभापतिसँग कुरा गर्दा सबैतिर लचकताको संकेत देखेको छु, मलाई लाग्छ, भाषामा समझदारी बनेपछि छिट्टै सदन चल्छ ।’संसद्को अवरोध खोल्न कांग्रेस र माओवादीका शीर्ष नेतृत्वबाट दलहरूबीच छलफल भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने पार्टीका कार्यक्रममा व्यस्त छन् । दलहरूबीच विभिन्न चरणमा आइतबार भएका छलफलमा एमालेबाट सचिव योगेश भट्टराई र पूर्वमन्त्री पदम गिरी सहभागी थिए । सभामुखसँगको छलफलमा मुख्य सचेतक महेश बर्तौला सहभागी हुँदै आएका छन् ।

सम्बन्धित समाचारसबै