काठमाडौँ – आफूलाई वैकल्पिक शक्तिका रूपमा उभ्याउँदै आएको प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नै खुट्टामा उभिन नसक्दा कहिले वल्लो किनार त कहिले पल्लो किनारमा पुगेर पछारिन पुगेको छ ।
सहकारी ठगीलगायत मुद्दामा गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा पार्टी सभापति रवि लामिछाने कारागार चलान भएपछि लथालिंग भएको आफ्नै पार्टीलाई लयमा ल्याउन नसकेको रास्वपा कहिले माओवादी त कहिले एमालेको पछि लागेर सरकारमा र सडकमा यात्रारत छ । यसैक्रममा पछिल्लो पटक गृहमन्त्री रमेश लेखकसमेत जोडिएको भनिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागको भिजिट भिसा प्रकरणमा संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीसँगै विरोधमा सँगसँगै देखिएको रास्वपा गत शुक्रबारदेखि यो प्रकरणमा पनि एक्लिएको छ ।
माओवादीले सत्तारूढ दलसँग दुईबुँदे सहमति गरेर जेठ १३ गतेदेखि अवरुद्ध संसद् सुचारु गर्ने बाटो खोलिदिएपछि संसद्मा रास्वपा एक्लिएको हो । मुख्यतः माओवादीको नेतृत्वमा १८ दिनदेखि अवरुद्ध रहेको संसद् माओवादीले नै सहमति गरेर खुलेपछि पछिल्लो समय धमिलिएको राजनीति केही सङ्लिएको छ । तर, माओवादीमाथि यत्तिका दिनको अवरोधपछि पनि उधारो सहमति गरेर कांग्रेस र एमालेसँग घुँडा टेकेको र लेखक प्रकरणसँग अग्नि सापकोटा प्रकरण साटफेर गरेको आरोप भने लाग्ने गरेको छ ।
मूलीबिनाको घरजस्तो अवस्थामा रहेको रास्वपाको अवरोधलाई अब सत्तापक्षलगायत सभामुखले समेत पेलेरै जाने रणनीति लिएको शुक्रबारको प्रतिनिधिसभा बैठकले देखाइसकेको छ । यस्तो अवस्थामा आगामी दिनमा रास्वपाले कस्तो कदम चाल्छ, त्यो आउने दिनले देखाउला । तर बिहानीले दिनको संकेत गर्छ भनेझैं अब रास्वपाले संसद्मा उठेर टेबल ढ्याप ढ्याप पार्ने, वेल घेराउ गर्नेभन्दा अरू केही गर्न सक्ने संकेत देखिएको छैन । किनकि, संसद्मा विरोध जनाउने भनेकै आफ्नो सिटमा उभिने, वेल घेराउ गर्ने यस्तै क्रियाकलाप हुन् ।
हुन त हाम्रै विगतलाई हेर्दा संसद्मा तोडफोड र कुर्सी हानाहानको अवस्था नआएको पनि होइन । यद्यपि रास्वपा त्यो अवस्थासम्म पुग्ला भन्ने लाग्दैन । यसो हुँदा अबका दिनमा रास्वपाको अवरोधका बीचमा पनि संसद् सुचारु हुनेछ भने रास्वपाले शुक्रबारको जस्तै गतिविधि दोहोर्याइरहने नै छ । त्यसबाट रास्वपाले केही पाउला भन्ने पनि देखिँदैन र उसले यो प्रकरणमा हेरेर बस्नुसिवाय केही देखिँदैन ।