नेपाल क्रिकेट: अविस्मरणीय बन्यो नेपालको १०० औँ टी२० खेल

0 Shares

काठमाडौँ – निर्धारित २० ओभरको खेलमा नेदरल्यान्ड्सले ७ विकेट गुमाएर १५२ रन जोड्यो। जबाफमा नेपालले पनि ८ विकेट गुमाएर १५२ रन बनायो। खेल बराबरी भएपछि छिनोफानो गर्न सुपर ओभर भयो।

पहिलो सुपर ओभरमा नेपालले एक विकेटको क्षतिमा १९ रन बनायो। अनि नेदरल्यान्ड्सले पनि विना विकेटको क्षतिमा १९ रन नै बनायो। खेल फेरि बराबर।

दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १ विकेट गुमाएर १७ रन बनायो। नेपालले विना विकेटको क्षतिमा १७ रन नै बनायो। फेरि पनि खेल बराबर।

तेस्रो सुपर ओभरमा चाहिँ नेपालले दुई विकेट गुमायो तर एक रन पनि जोड्न सकेन। नेदर्ल्यान्ड्सले सुरुकै बलमा छक्का हानेर खेल जित्यो।

यस्तो नतिजा खेलमा विरलै मात्र हुने गर्छ।

विशेष खेल बन्यो अविस्मरणीय

११ वर्षको समय लगाएर १०० औँ टी२० खेलिरहेकोले नेपालको लागि नेदरल्यान्ड्ससँगको खेल त्यसै पनि विशेष थियो।

त्यसमाथि स्कटल्यान्डको ग्लास्गोमा सोमवार राति खेलिएको खेलमा यस्तो ‘ड्रामा’ भयो की त्यसले टी-२० क्रिकेट इतिहासमा नयाँ कीर्तिमान बन्यो नै, नेपालको सयौं खेललाई पनि गजबले ‘अविस्मरणीय’ बनाइदियो।

नियमित खेल बराबरी, त्यसपछिको एउटा होइन दुईवटा सुपर ओभर पनि बराबरी भएपछि तेस्रो सुपर ओभरमा गएर बल्ल खेलको निर्णय भयो।

पुरुष विश्व क्रिकेटको व्यावसायिक खेल इतिहासमा यसअघि त्यस्तो कहिल्यै भएको थिएन।

न त लिस्ट ‘ए’ खेलमा न त टी-२० मा नै।

नेपालको खेल हेर्न ग्लास्गोस्थित क्रिकेट मैदानमा पुगेका नेपाली समर्थकहरूले एक रोमाञ्चक खेलको अनुभूति लिन पाए।

यो रोमाञ्चमा एउटै विषय मात्र नेपालको पक्षमा भएन। खेल नेपालले हार्‍यो।

सम्बन्धित समाचारसबै