जनकपुरधाम — रामसागर रामस्वरूप बहुमुखी क्याम्पस (राराब) का दुई जना विद्यार्थी नेता पक्राउ परेपछि क्याम्पस तनावग्रस्त बनेको छ।
पक्राउ पर्नेमा स्ववियु सभापति मनिष यादव र चमनप्रसाद गोइत रहेका छन्।
बीबीएस तेस्रो वर्षका विद्यार्थीहरूलाई परीक्षा प्रवेशपत्र वितरणमा ढिलाइ भएपछि क्याम्पस प्रमुख वसन्त कर्णसँग विवाद भएको थियो। सोही क्रममा विवाद मिलाउन पुगेको प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थी नेताहरूले प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लागेको छ। धनुषाका डीएसपी वरुणबहादुर सिंहका अनुसार घटनामा प्रहरी निरीक्षक जिवछ सिंहको औंला भाँचिएको छ।
विद्यार्थी नेताहरूको गिरफ्तारीको विरोधमा अहिले क्याम्पस चोकमा विद्यार्थीहरूले सडक अबरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका कारण जनजीवन प्रभावित बनेको छ।
क्याम्पस प्रमुख वसन्त कर्णका अनुसार काठमाडौँबाट परीक्षा प्रवेशपत्र ढिलो आइपुगेकाले वितरणमा ढिलाइ भएको हो। उनका अनुसार यस वर्ष राराब क्याम्पसमा बीबीएस तेस्रो वर्षमा १,२०० विद्यार्थीहरूले परीक्षा दिइरहेका छन्।
घटना समाधानको प्रयास जारी रहेको प्रहरीले जनाएको छ।