काठमाडौँ – पतञ्जलीको जग्गा प्रकरणमा बयान दिन पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको बयान सुरू भएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान सुरू भएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले दायर गरेको मुद्दामा बयान दिनका लागि उनी बुधबार अदालत पुगेको उनका वकिल कपिलदेव ढकालले बताए।
नेपालको बयान सकिएसँगै थुनछेक बहस हुनेछ।
नेपाल आफैंले उपस्थित हुने भन्दै निवेदन दायर गरी बुधबार बिहान अदालत पुगेका थिए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पचञ्जलीको जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
नेपाललाई १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो। काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियारले अध्यक्ष नेपाल सहितको बयान लिएको थियो।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो। अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद पनि निलम्बनमा छ।
यसअघि अख्तियारले मुद्दा दायर गर्नुअघि चैत १७ गते माधव नेपालको बयान लिएको थियो। बयानमा उनले अनुचित काम नगरेको बताएका थिए। नियतवश अनुचित काम गरेको भएमा सजाय भोग्न तयार रहेको पनि उनले बयानमा बताएका थिए।
‘मैले कसैलाई पनि नियम कानून र विधि मिचेर काम गर्नु भनेर निर्देशन वा आदेश दिएको छैन। मेरो यस्ता कुरामा कुनै संलग्नता रहेको छैन। मेरो कुनै पनि निर्णयहरू राष्ट्र र जनाताको हितका लागि मुलुकको नियम, कानून र विधि प्रकृया अनुरूप हुनुपर्दछ भन्ने मेरो मान्यता रहने गरेको छ। मलाई शंका नगर्न, मेरो नियतमा प्रश्न नगर्न म अनुरोध गर्न चाहन्छु,’ उनले त्यतिबेला भनेका थिए।