बेइजिङ — शाङ्हाई सहयोग संगठन (एससीओ) अन्तर्गत ऊर्जामन्त्रीस्तरीय बैठक चीनको चच्याङ प्रान्तको निङ्पो सहरमा बिहीबार सुरु भएको छ ।
उद्घाटन समारोहमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सम्बोधन गरे ।
एससीओ सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरूको पाँचौं बैठकमा मन्त्री खड्काले ‘इन्टरग्रेटेड इनोभेसन फर इनर्जी फ्युचर’सम्बन्धी मन्तव्य राख्ने र सँगसँगै अन्य तीन समानान्तर फोरम एकैसाथ आयोजना गरिने चिनियाँ सञ्चाचारमाध्यमले जनाएका छन् । फोरममा ‘वैज्ञानिक र प्राविधिक नवप्रवर्तनले ऊर्जा रूपान्तरणको नेतृत्व’, ‘दिगो ऊर्जा विकासलाई अगाडि बढाउने औद्योगिक नवप्रवर्तन’ र ‘उच्च-गुणस्तरीय ऊर्जा विकासलाई प्रवर्द्धन गर्ने नीतिगत नवप्रवर्तन’ विषय रहेका छन् ।
ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन मन्त्री खड्का सोमबाट चीन आएका थिए ।
‘नवप्रवर्तन र एकीकरण, गतिशील भविष्य’ भन्ने नाराका साथ मंगलबार र बुधबार सम्मेलन चल्नेछ । एससीओ ढाँचाअन्तर्गत क्षेत्रीय ऊर्जा सहयोगलाई अझ गहन पार्न र ऊर्जा क्षेत्रमा नवप्रवर्तन, एकीकरण र दिगो विकासको थप सुधार गर्न मुख्य रुपमा छलफल हुने आयोजक चिनियाँ राष्ट्रिय ऊर्जा प्रशासन र चच्याङ प्रान्त सरकारले जानकारी दिएका छन् ।
अवसरको पूर्ण उपयोग गरी सबै पक्षबीच सहमति निर्माण गर्न र शाङ्हाई ढाँचाअन्तर्गत ऊर्जा सहयोगलाई उच्च र गहिरो गुणस्तरमा प्रवर्द्धन गर्न आयोजित एससीओ ऊर्जा बैठकमा सदस्य राष्ट्रहरूका ऊर्जा विभागका प्रमुख, पर्यवेक्षक राष्ट्र, संवाद साझेदार र विशेष अतिथि देश, चीनस्थित राजदूत र सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाका प्रमुख सहभागी हुने जनाइएको छ । साथै सम्बन्धित देशका थिंक ट्यांक, विश्वविद्यालय र उद्यमी प्रतिनिधिहरू पनि निङ्पोमा भेला भएका छन् । बेइजिङस्थित नेपाली दूतावासबाट भने यसपटक कोही पनि सहभागी छैन ।
सन् २०१५ देखि नेपाल संगठनको डायलग पार्टनर हो । संगठनका लागि एक दर्जनभन्दा बढी देशहरु यस्ता पार्टनर रहेका छन् ।
सन् २००१ जुन १५ मा शाङ्हाई सहयोग संगठन स्थापना हुँदा ६ देश (चीन, रुस, काजाकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान, उज्बेकिस्तान) मात्रै संस्थापक थिए । सदस्य पर्यवेक्षक राष्ट्रहरू स्तरोन्नति हुँदै क्रमशः सदस्य बन्दै गएका छन् त्यसमा पाकिस्तान, भारत, मंगोलिया, इरान लगायत हुन् । भारत, पाकिस्तान र इरान लगायतका देश आपसी तनावबाट गुज्रिरहेका बेला सदस्य राष्ट्रहरूको शिखर सम्मेलन अर्को महिना बेइजिङको निकटवर्ती नगर थ्यानचिनमा आयोजना हुँदै छ ।
गत जुन १२ तारिख आयोजित प्रेस ब्रफिङमा राष्ट्रिय ऊर्जा प्रशासनका सम्बन्धित विभागहरूले एससीओ ढाँचा अन्तर्गत ऊर्जा मन्त्रीहरूको बैठक र सहयोगी गतिविधिहरू आयोजना गर्नेबारे जानकारी दिएका थिए ।
संगठनका अन्य कार्यक्रम अन्तर्गत रक्षामन्त्रीहरूको बैठक छिङ्ताओ सहरमा आयोजना भइरहेको छ । विश्वव्यापी भूराजनीतिक द्वन्द्व तीव्र भइरहेका बेला भारत, पाकिस्तान, इरान लगायतका देशका रक्षामन्त्रीहरूको सहभागिताले यो बैठक पनि अर्थपूर्ण बनिरहेको छ ।