विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किँदा एमालेमा हलचल

0 Shares

काठमाडौं, असार १५ —राष्ट्रपतिको दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बाहिरिएको करिब दुई वर्ष साढे तीन महिनापछि विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन्।

शनिबार आयोजित एक कार्यक्रममा उनले आफ्नो राजनीतिक सक्रियताको औपचारिक उद्घोष गरेकी हुन्, जसले नेकपा एमालेभित्र नयाँ तरंग ल्याएको छ।

पूर्वराष्ट्रपति भण्डारीको यो घोषणा एमाले विधान महाधिवेशनको संघारमा आएको हो, जुन शक्तिकेन्द्रहरूबीचको प्रतिस्पर्धालाई पुनः चर्काउने सङ्केतको रूपमा हेरिएको छ। विशेषतः अध्यक्ष केपी शर्मा ओली एकल निर्णय र वर्चस्वको शैलीका कारण आलोचनामा परिरहेका बेला भण्डारीको सक्रिय उपस्थितिले पार्टीभित्र नयाँ समीकरणको सम्भावना बढाएको छ।

मदन भण्डारीको ७४औं जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले “राजनीति मेरो प्रतिबद्धता हो, म फेरि सक्रिय राजनीतिमा फर्किएको छु” भन्दै घोषणा गर्दा कार्यक्रमस्थल एमाले कार्यकर्ताहरूको ताली र उत्साहले गुञ्जिएको थियो। यो कार्यक्रम ‘मदन भण्डारी फाउन्डेसन’ले आयोजना गरेको हो, जसमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली प्रमुख अतिथि थिए।

तर ओलीले भने स्पेन भ्रमणको कारण देखाउँदै मन्तव्य दिएर कार्यक्रमको मध्यमै प्रस्थान गरेका थिए। उनी नहुदा भण्डारीले राखेको मन्तव्य र घोषणालाई विश्लेषकहरूले अर्थपूर्ण संकेतका रूपमा हेरेका छन्।

एमालेबाट असन्तुष्ट नेताहरू अलग भएका र भीम रावलजस्ता नेताहरू निष्कासनमा परेपछि ओलीलाई पार्टीभित्र ठोस चुनौती दिने नेताको अभाव थियो। तर भण्डारीको पुनरागमनले पार्टीभित्र शक्ति सन्तुलन र नेतृत्वको बहस पुनः सुरु हुने देखिएको छ।

राजनीतिक वृत्तमा भण्डारीको पुनर्सक्रियता नेकपा एमालेभित्र सशक्त प्रतिस्पर्धाको संकेत हो भन्ने मत बलियो हुँदै गएको छ। अब हेर्न बाँकी छ — भण्डारीको यो सक्रियता नेतृत्वको परिवर्तनसम्म पुग्छ कि होइन।

सम्बन्धित समाचारसबै