काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै क्रियाशील गराइ आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्नुपर्ने खाँचो औल्याएका छन् ।
राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न आग्रह गर्दै धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय भएको बताए । राष्ट्रपति पौडेलले जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने खाँचो औँल्याए ।
शुभकामनामा भनिएको छ, “धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गर्दै धान एवं चामलको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”
नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्त्व दिनेगरी धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरी किसानको मनोबल वृद्धि गर्ने उद्देश्यले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरू गरिएको हो । यस वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय धान दिवस, २०८२ मनाइँदै छ ।
राष्ट्रपति पौडेलले नेपालमा धानखेतीका लागि पर्याप्त सिँचाइको व्यवस्था भइनसकेको सन्दर्भमा वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको तथ्यहरूले देखाउने बताउँदै धानखेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न राज्यको ध्यान केन्द्रित हुन जरुरी रहेको बताए ।
“धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय हो । जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी हाम्रो प्रयासलाई केन्द्रित गर्नुपर्ने खाँचो छ”, सन्देशमा भनिएको छ ।