राज्य व्यवस्था समितिका सचिव दुरा भन्छन्- निजामती विधेयक प्रतिवेदनको भाषा नहेर्नु त्रुटि भयो

0 Shares

काठमाडौँ- प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले निजामती सेवा विधेयक प्रतिवेदनको भाषा राम्रोसँग नहेर्दा त्रुटि हुन पुगेको बताएका छन्।

सभामुख देवराज घिमिरे, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र सांसदहरूसँगको छलफलका क्रममा सचिव दुराले प्रतिवेदनको भाषा राम्रोसँग नहेर्दा त्रुटि हुन पुगेको बताएका हुन्।

निजामती सेवा विधेयकभित्र रहेको कुलिङ पिरियडमा निजामती कर्मचारी वा अन्य सरकारी कर्मचारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको मितिले २ वर्षसम्म संवैधानिक नियुक्ति पाउने छैन भन्ने उल्लेख थियो।

राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेकोभन्दा फरक प्रतिवेदन कसरी तयार भएर प्रतिनिधि सभाबाट पारित भयो भन्ने विषयमा पनि प्रश्न उठेको छ। यस विषयमा सभापति खतिवडासहित सांसदहरूले मंगलबार सभामुख देवराज घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका छन्।

समिति सभापति खतिवडा र सांसदहरूसँगको छलफलमा सभामुख घिमिरेले यो क्षमा दिने गल्ती नभएकोले छानबिन आवश्यक रहेको बताएका थिए।

‘यो क्षमा दिने गल्ती होइन। छानबिन गर्छौं, सच्याएर पठाऔं,’ सभामुख घिमिरेले भने।

सांसदहरूले कुलिङ पिरियडको भाषा हेरफेर गर्न संलग्नमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग राखेका छन् भने समिति सभापति खतिवडाले आफूमाथि पनि छानबिन गर्न माग गरेका छन्।यसपछि नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन मन्त्रालयका कर्मचारीले गरेका काम राज्य व्यवस्था तथा सुशासन समितिका सचिवले नहेर्नु त्रुटि भएको बताए।

समितिका सचिव सुरजकुमार दुराले भाषा नहेर्नु त्रुटि भएको बताए। ‘त्रुटि भयो। मिलाउँदा यो परेछ। कानुन र सामान्य मन्त्रालय र सचिवालय बसेर काम भएको हो। १२ जना सांसद पनि थिए,’ उनले भने।

सम्बन्धित समाचारसबै