रौनक श्रीवास्तवको ऐतिहासिक शतक र बलरहरूको कडा प्रदर्शनको बलमा नेपालले एसीसी यू–१६ इस्ट जोन क्रिकेटको समूह चरणको अन्तिम खेलमा भुटानमाथि २९८ रनको विशाल जित निकालेको छ।
काठमाडौंमा भएको खेलमा नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३२.४ ओभरमा ६० रनमै ९ विकेट गुमायो। अन्तिम ब्याट्सम्यान नआउने जानकारीसँगै तथा वर्षा सुरु भएपछि खेल समाप्त भएको घोषणा गरियो।
भुटानका सेजाङ दावाले १४ र उगेन केल्जाङले १० रन बनाए।
नेपालका कप्तान बिपिन प्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै मात्र ७ रन खर्चिएर ४ विकेट लिएका थिए।
त्यस्तै, सचिन भट्टले २ विकेट र सुयोग भट्टराईले पनि २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो, जुन प्रतियोगितामा नेपालद्वारा बनाइएको दोस्रो उच्च स्कोर हो।
नेपालले यसअघि इन्डोनेसियाविरुद्ध ४२० रन बनाएको थियो।
रौनक श्रीवास्तवले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै शानदार १६८ रनको पारी खेले।
यो नेपाली खेलाडीले कुनै पनि प्रतियोगितामा बनाएको अहिलेसम्मकै सर्वाधिक व्यक्तिगत स्कोर हो।
यसअघि सन् २०२३ मा अर्जुन कुमालले यू-१९ प्रतियोगितामा १४३ रन बनाएका थिए।
जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रनको योगदान दिए।
रौनकले शिवांशसँग ९१ रन, सुगम बुढाथोकीसँग ७२ रन (सुगमले ३५ रन बनाए) र जोय थापासँग १७० रनको साझेदारी गरेका थिए।
नेपालले समूह चरणका सबै ४ खेल जित्दै ८ अंकसहित शीर्ष स्थान हासिल गरेको छ।
सिंगापुर ६ अंकसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले, दोस्रो खेलमा जापानलाई ९ विकेटले र तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० रनले हराएको थियो।
समूह ए विजेता बनेको नेपाल अब सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालको अहिलेको प्रदर्शनलाई हेर्दा, उपाधिको बलियो दावेदारको रूपमा अगाडि बढेको देखिन्छ।