रास्वपाको प्रश्न : अडियोमा भनिएका ‘बा’ को हुन् ?

0 Shares

काठमाडौँ — रास्वपा सांसद सुमना श्रेष्ठले आफूहरुले उठाउँदै आएको विषय स्पेनको सेभिल घटनाले पुष्टि गरेको बताएकी छन् ।

‘सबैभन्दा दु:खको कुरा सदनमा आन्दोलन हुँदै गरेका बेला पनि बिचौलियालाई डर न संकोच । कसको अकर्मण्यताले मानव तस्करहरुमा यस्तो आँट पलाएको हो ?’ आजको प्रतिनिधिसभा बैठकमा उनले भनिन् ।

कोभिडपछि दुबई गएका नेपाली भिजिट भिसामा बिचल्ली परेपछि गठित कार्यदल र अहिलेको कार्यदलमा केही फरक नरहेको उनको भनाइ थियो । ‘कर्मचारीले मात्रै सल्टाउन सक्दैन, यसको जालो ठूलो छ,’ उनले भनिन्, ‘त्यसैले हामीले संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग मागेका हौं ।’

२०७८ मा गठित कार्यदलको अध्ययन प्रतिवेदन गृह मन्त्रालयको कुनै कुनामा थन्किएको भन्दै उनले फेरि पनि त्यस्तै कार्यदल बनाएर सरकारले आँखामा छारो हालेको बताइन् । एक व्यक्तिकेन्द्रित भएर सिंगो सरकारले जनताको पीडा नसुनेको उनको भनाइ थियो ।

भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि उनले जवाफ माग गरिन् । ‘तपाईंलाई थाहा दिएको थियो कि थिएन २०७८ को प्रतिवेदनबारे ? कास्कीको कार्यालयमा को पठाउनेमा सेटिङ र घुस, जिल्लाको भूमि आयोगको अध्यक्षमा सेटिङ, किन भूमि विधेयक फास्ट ट्र्याकबाट गर्न खोजिएको बुझियो,’ उनले थपिन्, ‘आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन ? एउटा मन्त्रीले अर्को मन्त्रीलाई पोलेको छ । यसको छानबिनको हामी माग गर्छौं । अडियोमा भनिएका ‘बा’ को हुन् ?’

सम्बन्धित समाचारसबै