निष्ठामा नडगमगाएका न्यायाधीश सिन्हाको सिंहदरबार यात्रा

0 Shares

काठमाडौँ — सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमारले सिन्हा भूमि,सहकारी,उधोग र कानुनमन्त्रीको शपथ लिएका छन् । कुनै समयका चर्चित ‘कर्पोरेट लयर’ हुँदै सर्वोच्चका स्थायी न्यायाधीश भएर अवकाश पाएका सिन्हालाई तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सहयात्रीमा दोस्रो न्यायाधीश अनि तेस्रो कानुन व्यवसायी छानेकी हुन् । कानुन व्यवसायी हुँदै सर्वोच्चको न्यायाधीश हुँदा निष्ठामा अविचलित रहेका सिन्हाको परीक्षा अब भने मन्त्रीका रूपमा हुने छ ।

१७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका सिन्हा करिब ७ वर्ष सर्वोच्च अदालतमा रहँदा मूलत: संवैधानिक विवाद, फौजदारी र वाणिज्यसम्बन्धी मुद्दा निरुपणमा सक्रिय भए ।

उनी संलग्न इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी विवाद, प्रतिनिधिसभाको पहिलो विघटन, कर फर्स्यौट आयोगको बन्दीप्रत्यक्षीकरणसम्बन्धी विवाद निरुपण गरेको थियो । यसबाहेक उनका धेरै व्याख्या नजिरका रूपमा छन् । उनी न्याय निरुपणबाहेक सर्वोच्च अदालतलाई सूचना प्रविधिमैत्री बनाउन सक्रिय थिए ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हा वरिष्ठ अधिवक्ता सुशीलकुमार सिन्हाका छोरा हुन् । नेपालका प्रथम वरिष्ठ अधिवक्ता देवनाथप्रसाद बर्मा सिन्हाका मावली हजुरबुबा हुन् ।

अनिलका हजुरबुबाले कानुन व्यवसायी ऐन मस्यौदा गरेका थिए । त्यसपछि उनलाई सर्वोच्च अदालतको फूल कोर्टले सोझै वरिष्ठ अधिवक्ताको लाइसेन्स दिएको थियो । सिन्हाको घरमा कानुनको मात्रै कुरा हुन्थे । त्यसैले उनी पनि अब्बल कानुन व्यवसायीको छवि बनाउँदै न्यायाधीश भएका थिए ।

अनिलले करका मुद्दा, करार तथा सम्झौताबारे धेरै कुरा बुवाबाटै सिक्ने अवसर पाए र त्यसैमा रमाए । विद्यालयलयस्तरमा उनलाई कानुनको रहर थिएन । उनी सिभिल इन्जिनियर बन्न चाहन्थे । त्यसका लागि साइन्स पढ्न चाहन्थे । उनी अमृत साइन्स क्याम्पस भर्ना पनि भए । पञ्चायतकालको सरकारी कलेज, त्यसमाथि चर्को राजनीति, त्यसबाट उनी टाढा रहने कुरै भएन । एक दिन अचानक परीक्षा दिँदै गर्दा केही प्रहरी आएर उनलाई कलेजमै पक्राउ गरे । अनिलकुमार सिंह नामको व्यक्तिको ठाउँमा भूलवश पक्राउमा परेका उनलाई त्यो घटनाले त्रसित बनायो । परिक्षामात्रै छुटेन, उनले कलेज नै छोडे । यही बिन्दुबाट सिभिल इन्जिनियर बन्ने सपना छोडी उनी कानुनका विद्यार्थी बने । उनले साइन्स पढ्ने साथीहरू अगाडि बढ्दा आफू पछाडि पर्छु कि भन्ने सोचे अनि कानुनमा भर्ना भएर मेहनत गर्न थाले ।

नेपाल ल क्याम्पसबाट २०३९ सालमा स्नातक उत्तीर्ण गरे । त्यसपछि २०७३ सम्म निरन्तर वकालत गरे । त्यसपछि सर्वोच्च अदालतका न्यायाधीशको हैसियतमा ७ वर्ष ३ महिना बिताए । उनले कानुन व्यवसाउमा बुवाकै पथ पछ्याउँदै कर्पोरेट र कर कानुनलाई समाए । अलि नाम चल्न थालेपछि उनले न्युरोडमा सिन्हा बर्मा ल फर्म खोले । उनले यो अवधिमा १० हजारभन्दा बढी मुद्दा लडे । करसम्बन्धी धेरै मुद्दा जितेका उनले कहिलेकाहीँ नमिठो हार पनि झेल्नुपर्यो । सुरु-सुरुमा उनी मुद्दा हार्दा निकै डराउँथे । एउटा मुद्दा हारे भने १५ दिन गायब भइदिन्थे । बहसमा जाँदैनथे । त्यस्तो बेला उनका बुवाले गाली गर्दै सम्झाउँथे, बहस सकाएपछि त्यहाँ उभिएर मुद्दा के भयो भनेर सुन्ने कोसिस नै नगर्नू । हारजितलाई कहिल्यै व्यक्तिगत रूपमा नलिनू । मैले पनि सय वटा हारेर एउटा जितेको हुँला । दुईचार मुद्दा हार्दैमा निराश नहुनू ।

तर पनि जीवनमा तीन चार मुद्दा यस्ता पनि छन् जुन हार्दा तीन चारसम्म उनी निदाउन सकेनन् । कानुन व्यवसायमा सक्रिय हुँदा उनी यति बेफुर्सदी भए कि पछाडि फर्केर हेरेनन् । दैनिक १८ घन्टासम्म काममा खटिए । यसक्रममा दिनकै ६० किमिसम्म उनी यात्रा गर्दथे । उनलाई घुम्न र गल्फ खेल्न शोख छ । शनिबार भयो कि गाडीमा साथीहरूसँग ककनी, धुलिखेल, नगरकोट पुगिहाल्ने त्यो सम्भव भएन भने उनी गोकर्ण रिसोर्टमा गल्फ खेलिरहेको भेटिन्थे ।

पहिले कम्प्युटरको व्यवस्था थिएन, टाइपराइटरबाट टाइप गर्नुपर्थो। अनिलका अनुसार, कानुन व्यवसायीमा सबैभन्दा पहिले (०४४/४५ सालतिर) कम्प्युटर किन्ने सतीश खरेल हुन् । त्यसको केही दिनमै ७२ हजार रुपैयाँ हालेर उनले कम्प्युटर किने । यो रकम उनको ९ वर्षदेखिको बचत थियो । त्यतिबेला जग्गा सस्तै थियो, भैंसेपाटीमा ४५ हजार रुपैयाँमा एक रोपनी जग्गा हेर्न पनि गएका थिए तर उनले जग्गा होइन, कम्युटर चाहिन्छ भनेर फर्किए । कम्प्युटर किन्दा कतिपयले जग्गा नकिनेर किन कम्प्युटर किन किनेको भनेर गाली पनि गरेका थिए । कतिले ठीकै हो पनि भनेका थिए ।

२०७१ सालतिर, अनिलको फर्मले वार्षिक ६० लाख रुपैयाँ कर तिर्थ्यो । आयकर मात्रै उनले करिब २५ लाखको हाराहारीमा तिरेका थिए । यसरी हेर्दा आम्दानी करिब १ करोड बराबर हुन्थ्यो । तर उनले न्यायाधीशको प्रस्ताव आएपछि स्वीकार गरेर गए ।

सिन्हाले सर्वोच्चबाट १४ कात्तिक २०८०मा अवकाश पाए । केही समयअघि मात्र उनले हवाई सुरक्षासम्बन्धी अध्ययन कार्यदलमा बसेर काम पनि गरे । अहिले उनले आफ्नो ल फर्म छोरी अञ्जलिका सिन्हालाई जिम्मा लगाएका छन् । लामो समय कानुनी अनुभव सँगालेका अनिल पुरानो र नयाँ समयका कार्यशैलीबारे विश्लेषण गर्नसक्ने कानुनविद् हुन् ।

सम्बन्धित समाचारसबै