काठमाडौँ — नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले पार्टीको नियमित महाधिवेशन नै मंसिरमा हुनुपर्ने माग गरेका छन्। सभापति शेरबहादुर देउवा तत्काल नेतृत्वबाट अलग हुन तयार नभइरहेको, र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नै विशेष महाधिवेशनको पक्षमा खुलिरहेका बेला नेता शाहीले भने नियमित महाधिवेशन नै मंसिरमा हुनुपर्ने बताएका हुन्।
‘विधानबमोजिम केन्द्रीय कार्यसमितिको कार्यकाल ४ वर्षको हो। त्यसैले विशेष महाधिवेशन होइन, अहिले नियमित महाधिवेशन नै हुनुपर्छ,’ सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘यसका लागि अहिलेको केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी उत्तिकै जिम्मेवार हुनुहुन्छ।’
उनले जेन-जी आन्दोलनपछि नयाँ जनमत र युवा पुस्ताको चासो फरक भएकाले नियमित महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नु नै सबैभन्दा उपयुक्त हुने बताए । ‘अहिले विशेष महाधिवेशन भनेर कुरा गर्दा क्रान्तिकारी विचार त सुनिएला। तर यसका लागि तीन महिना लाग्छ। त्यसबेलासम्म त चुनाव आइसक्छ,’ उनले भने, ‘पार्टीलाई एक ढिक्का बनाएर नियमित महाधिवेशनबाट सबै समस्याको समाधान खोज्नुपर्छ।’