काठमाडौं- ऐतिहासिक सहर बनेपामा नवदुर्गा जात्रा मनाइँदै छ ।
शुक्रबारदेखि तीन दिनसम्म मनाइने जात्रामा विशेषगरी भैरव (देवगण)को ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ । शुक्रबार बनेपा बजारको विभिन्न मन्दिरमा पूजाअर्चना गरी जात्रा सुरू गरिएको हो ।
जात्राका क्रममा विशेषगरी साँझपख सहरका डबलीहरूमा श्वेतभैरवको ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ । जात्रा अवधिभर स्थानीयले नवदुर्गाको पासुका (एक प्रकारको धागोको रङ्गीचङ्गी माला) र मोहनी (कालोटीका) लगाउने गर्छन् । जात्राको अन्तिम दिन देवगणले नवदुर्गाको भेषमा नाचसँगै ‘माछा मार्ने’ काम सकेर जात्रा समापन गरिन्छ ।
जात्रा–संस्कृतिअनुसार वैशाख महिनामा भक्तपुरबाट नवदुर्गाको आगमन हुने मान्यता छ । नवदुर्गाले तीन दिनसम्म विभिन्न हाउभाउका साथ ऐतिहासिक सहर बनेपाको डबलीहरुमा नृत्य देखाउने गरेका हुन् । नवदुर्गाको आगमन हुँदा नगरका स्थानीयले आ–आफ्ना घरबाट विशेष पूजा सामग्रीसहित पूजाअर्चना गरेका थिए । यस क्रममा श्रद्धालु भक्तजनले पञ्चबलि दिने, नवदुर्गा देवगणलाई भोजन गराउने काम हुने स्थानीय कान्छामान रञ्जितले बताए ।