काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सूचना प्रविधिको वर्तमान युगमा एकातिर दक्ष जनशक्ति अभाव र अर्कातिर सेवाप्रदायक निकायको स्तरहीन सञ्चार सेवाले डिजिटल मधेश बनाउने अभियानमा चुनौती थपेको बताउनुभएको छ ।
यस्ता समस्याले सरकारी कामकाजलाई प्रविधिमैत्री बनाउन पनि कठिन बनाएको उहाँको भनाइ छ ।
मधेश प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयले क्यान महासङ्घ र आइसिटी फाउन्डेसनसँगको सहकार्यमा बर्दीबासमा आयोजना गरेको ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ लाई बुधबार सम्बोधन गर्दै यस्तो समस्या औँल्याउनुभएको हो ।
उहाँले युवा जनशक्तिलाई दक्ष बनाउनुको साटो विप्रेषण बढाउन मात्र सीमित पारिएकाले जनशक्ति खेर गइरहेको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले आइटी क्षेत्रलाई सदुपयोग गरी एकै थलोबाट हजाराैँ युवाका लागि रोजगारी सिर्जना गरेर मुलुकलाई समृद्धितर्फ डोर्याउन सकिने धारणा व्यक्त गर्नुभयो ।