काठमाडौँ। बेलाबखत देशभित्र अघोषित लोडशेडिङ भइरहेको भन्ने गुनासोमाझ नेपाल विद्युत् प्राधिकरणले भारतलाई बिजुली बेच्न सुरु गरिसकेको र आउँदो असारदेखि बाङ्ग्लादेशलाई बिजुली निर्यात गर्ने तयारी गरिराखेको अधिकारीहरूले बताएका छन्।
बिजुली आयात र निर्यातको आँकडा भने ‘पीक आवर’ उपयोगमा आधारित रहेको बताइन्छ।
वर्षाको समयमा बिजुली खेर जाने जोखिम पनि कायमै रहेको छ।
प्राधिकरणका अधिकारीहरूले केही दिनयता पानी पर्ने क्रम बढेसँगै यो सिजनको बिजुली निर्यात सुरु भएको बताएका छन्।
शनिवारदेखि रातको समयमा भारततर्फ दैनिक डेढ सयदेखि दुई सय मेगावाटसम्म निर्यात गर्न थालिएको तथ्याङ्क छ।
वर्षासँगै नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरूको उत्पादन बढ्ने गर्छ।
उत्पादन बढेसँगै रातको समयमा बिजुली खेर जाने जोखिम हुने र प्रसारण लाइनको अभावमा पनि कतिपय आयोजनाका उत्पादन खेर जाने गरेका विवरण छन्।
प्राधिकरणका प्रवक्ता राजन ढकालले त्यस्ता समस्या हल गर्न प्रयत्नरत् रहेको र असार १ गतेदेखि बाङ्ग्लादेशतर्फको निर्यातका निम्ति आफूहरू सहज अवस्थामा हुने बताए।
हिउँदमा भने नेपालले भारतसँग बिजुली किन्दै आएको छ। प्राधिकरणका अधिकारीहरू अहिले पनि दिनमा भारतबाट दिनहुँ चार सय मेगावाटसम्म विद्युत् आपूर्ति भइराखेको बताउँछन्।