काठमाडौँ – एसियामै पहिलोपल्ट ट्रेकिङ कम्पनी खोलेर नेपालका पदयात्रा मार्गलाई विश्वमाझ चिनाएका पूर्व गोर्खा सैनिक कर्णेल जिम्मी रोबर्ट्सले आफ्नो जीवनको उत्तरार्द्धमा भनेका थिए, ‘मेरो मृत्युपछि मेरो अस्तुलाई सेती गण्डकीमा सेलाइदिनु ।’
उनले ट्रेकिङ कम्पनी खोलेर नेपालका पदयात्रा मार्गको अन्वेषण मात्रै गरेनन्, सेतीको शिरमा डाँफे–मुनाल पाइँने भेगलाई पिपर संरक्षित क्षेत्र बनाउने परिकल्पना पनि गरे ।
भारतमा गोर्खा रेजिमेन्टबाट अवकास पाएपछि पोखरालाई आफ्नो कर्मथलो बनाएका उनले सन् १९६४ मा ट्रेकिङ कम्पनी ‘माउन्टे ट्राभल नेपाल’ खोलेका थिए । एक वर्षपछि उनले कम्पनी दर्ता गरे। अनि चाहारे पश्चिम नेपालका पाखा पखेरा। पहिलोपल्ट ब्रिटिस गोर्खा अधिकृतको रुपमा नेपाल आएका उनले बेलायतको संग्रहालयका लागि चरा संकलनको पनि काम गरे ।
पोखरामा सन् १९६० को सुरुआतमा आए । तल घाँसे मैदान, माथि अन्नपूर्ण र माछापुच्छ्रेको विचित्र रुपले उनलाई यतै अड्यायो । हाल चल्तीमा रहेका पश्चिम नेपालका पदयात्रा मार्ग अन्वेषणमा उनले भूमिका खेले । लमजुङबाट मनाङ हुँदै थोरोङ पास गरेर मुस्ताङबाट म्याग्दी निस्कने २१ दिनको ‘राउन्ड अन्नपूर्ण’ पदयात्रा मार्ग, वीरेठाँटी–घान्द्रुक–छोम्रोङ हुँदै पुगिने अन्नपूर्ण आधार शिविर, घोरेपानी–पुन हिल पदयात्रा मार्ग उनैले अन्वेषण गरेका हुन् ।
सन् १९७६ मा पदमार्ग अन्वेषणकै क्रममा उनी हालको माछापुच्छ्रे गाउँपालिकामा पर्ने पिपर क्षेत्र पुगे । गाउँपालिकाको अन्तिम गाउँ करुवा–साँदल हुँदै पिपर लेक पुगिन्छ । उनीसँग सहयोगीका रुपमा झलक थापा पनि सँगै हुन्थे । उनी पिपर पुग्दा फेजेन्ट (कालिज) प्रजातिका चरा बासेको सुने । नेपालमा पाइने ८ प्रजातिका मध्ये ५ प्रजातिका कालिज एकै भेगमा देखे । रंगीचंगी डाँफे, मुनाल, फोक्रास, चिलिमे र कालिज देखेर उनको मन मोहित भयो ।
सन् १९७५ मा विश्वभरका कालिज संरक्षणमा काम गर्न बेलायतमा मुख्यालय रहने गरी वर्ल्ड फेजेन्ट एसोसियसन (डब्ल्युपीए) स्थापना भएको थियो । जिम्मी रोबर्ट्स र विश्व कालिज संघका पदाधिकारीबीच त्यसबेला सम्पर्क भयो । उनले पिपरबारे बेलिविस्तार लगाए । बेलायतमा पढ्दै गरेका एन्थोनी लेलियोटलाई अध्ययनका लागि नेपाल झिकाए । लेलियोट आएर पिपर र बागलुङको ढोरपाटन क्षेत्रमा कालिजको अध्ययन गरे । पछि डा.प्रल्हाद योञ्जन पनि जोडिए ।