काठमाडौँ —बाराका युनुस अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद पाएको छ ।
नक्कली भारतीय नोट प्रकरणमा ६ वर्ष कैद सजाय भुक्तान शनिबार छुटेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छुटेलगत्तै पक्राउ गरेको थियो । अन्सारीविरुद्ध सीआईबीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको छ ।
उनी कैद मुक्त हुने भएपछि सीआईबीले अनुसन्धानका लागि उपस्थित गराइदिन कारागार व्यवस्थापन विभागलाई बुधबार मात्रै पत्र पठाएको थियो । त्यही पत्रका आधारमा कारागारबाट रिहा भएलगत्तै शनिबार नियन्त्रणमा लिएको थियो ।
अन्सारी पहिलो पटक १३ पुस २०६६ मा २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए । उनी अर्को महिना १७ माघमा कारागार चलान भएका थिए । त्यतिबेला उनी नेसनल टेलिभिजनका अध्यक्ष थिए । ६ असोज २०६७ मा पुनः ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारी जोडिएका थिए । त्यसपछि करिब ५ वर्ष कैद सजाय भुक्तान गरेर उनी १८ असोज २०७० मा छुटेका थिए ।