0
Shares
संखुवासभा — संखुवासभामा दुई किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका–३ का २८ वर्षीय प्रकाश राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
खाजा खाने, घुम्न जाने भन्दै मोटरसाइकलमा राखेर खाँदबारीको एक होटलमा लगेर बलात्कार गरेको आरोप उनीहरूमाथि लागेको हो।
उनीहरू जेठ ७ गते खाँदबारी बजार घुम्न आएका थिए। १६ र १७ वर्षीया बालिकालाई ललाइफकाई बलात्कार गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले बताए।
पीडित किशोरीद्वयकोतर्फबाट जाहेरी परेपछि प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।