काठमाडौं–चितवनमा एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आएका छन्।
पर्साको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्यालले क्यान्सरका बिरामीको सेवा गर्दै आएका । पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ ।
उनले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आएका हुन् ।
विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आएका उनले धेरै क्यान्सर बिरामीका कथा सुने । कतिपय बिरामीले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उनीसँग पोख्थे । उनले भने, ‘मैले आफ्नो अटोबाट केही सहयोग गर्न सक्छु भने किन नगर्ने ? भनेर निःशुल्क सेवा सुरु गरेँ ।’
उनले भने, ‘बिहान धेरै बिरामी टोकन लिन अस्पताल पुग्छन्, त्यसैले मैले यो समय छानेको हुँ ।’